सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको इन्द्रावती नदीको बाढीले मेलम्ची बजारको एउटा घर बगाएको छ । असार १ गते मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीले क्षति पुगेको तीन तले घर इन्द्रवती नदीको कटानको कारण ढलेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिनुुभयो । उहाँका अनुसार मेलम्ची ११ का गोपाल भनिने महेन्द्र दुलालको तीनतले घर नदी कटानको कारण ढलेको हो । यद्यपी दुलालको परिवार भने सुरक्षित छन् ।
असार १ गतेको बाढीले घरमा क्षति पुर्याएपछि उनीहरु अन्तै कोठा लिएर बस्नुभएकोले सबै सुरक्षित रहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिएका छन् । शुक्रबार रातिदेखि निरन्तर वर्षा भइरहेका कारण इन्द्रवती नदीमा भने पानीको बहाव बढेका कारण नदी आसपास र तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताएका छन् । असार १ गतेदेखि मेलम्चीमा आएको बाढीले हेलम्बु र मेलम्चीमा ५ जनाको मृत्यु भएको थियो भने दर्जनौ बेपत्ता भएका छन् । त्यस्तै चार सयभन्दा बढी घरपरिवार विस्थापित भएका छन् ।
FACEBOOK COMMENTS