साउन ०९ – बाढी पहिरोमा परेर बागमती प्रदेशका (काठमाडौं उपत्यकाबाहेक) विभिन्न १० जिल्लामा १० जनाको मृत्यु भएको छ। असार २४ पछिको वर्षासँगै आएको बाढी र पहिरोमा परेर बिहीबारसम्म २२ जना बेपत्ता भएका छन्।
१४ जना घाइते भएका छन्। बागमती प्रदेशमा सबैभन्दा धेरै सिन्धुपाल्चोकमा बाढी पहिरोले क्षति गरेको छ। पहिरोले सिन्धुपाल्चोक ६ जना र धादिङमा ४ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ। सिन्धुपाल्चोकमा १ महिला, १ पुरुष, १ बालक, ३ बालिकाको मृत्यु भएको छ। यस्तै धादिङमा २ महिला, १ पुरुष र १ बालिकाको मृत्यु भएको छ। कार्यालयका अनुसार वेपत्ता हुने सबै सिन्धुपाल्चोकका हुन्।
बेपत्ताको खोजीसँगै र घाइतेहरूको उपचार भरहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सुदीप गिरिले बताए। उनका अनुसार भौतिक संरचनाको क्षतिको विवरण संकलन हुन बाँकी छ। बिहीबार सम्ममा १० जिल्लाका १ सय ८ वटा पक्की तथा कच्ची घरमा क्षति पुगेको छ।
५९ वटा कच्ची घर, २६ वटा पक्की घर र २३ वटा गोठ/टहरामा क्षति पुगेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। प्रदेशमा ५ वटा पक्की पुल र ५ वटा झोलुंगेपुलमा क्षति पुगेको छ। प्रदेश सरकारको विपद् व्यवस्थापन समिति र जिल्लास्थित विपद् समितिको समन्वयमा सुरक्षा निकाय बाढी पहिरो पीडितको उद्धार तथा व्यवस्थापनमा जुटेको गिरिले जानकारी दिए।
FACEBOOK COMMENTS