काठमाडौं – प्रतिनिधि सभाको आजको बैठकमा बैंक तथा वित्तीय संस्था सम्वन्धि ऐन (बाफिया) माथि छलफल हुने भएको छ ।
बैठकमा बैंक÷व्यवसायी छुट्याउने र बैंक संचालक÷प्रमुख कार्यकारी अधिकृत(सिईओ) को उमेर हद तोक्ने नयाँ व्यवस्था गर्न लागिएको हो ।
आज ४ बजे संसदले उक्त ऐन पास गर्ने बताइएको छ ।
उद्योगीहरुले नै बैंक तथा वित्तीय संस्था सञ्चालन गर्दा वित्तीय क्षेत्रमा समस्या देखिएपछि उक्त ऐन आएको ३ वर्षमा संशोधन हुन लागेको छ । बाफिया ऐन परिमार्जन गर्न नेपाल राष्ट्र बैंकले उद्योगी व्यवसायीहरुलाई बैंकको सञ्चालक बन्न नपाउने गरी प्रस्ताव गरेको छ भने उमेर हद समेत तोकेको छ ।
राष्ट्र बैंकले गत साउन २० गते परिपत्र जारी गरी संचालक बन्न पाउने उमेर हद ७० वर्ष र सिईओ बन्न पाउने उमेर ६५ वर्ष तोकेको छ ।

बैंक र व्यवसायी एउटै व्यक्ति हुँदा ब्याजदर नियन्त्रणमा समस्या आएको अर्थमन्त्री डा. युवराज खतिवडाले बताउँदै आएका छन् । कर्जा कारोबार गर्ने व्यक्ति बैंक संचालक हुँदा स्वार्थ बाझिने हुँदा वित्तीय क्षेत्रमा समस्या आएको राष्ट्र बैंकको ठहर छ ।

उद्योगी र बैंकर्स एउटै बन्दा स्वार्थ बाझिएको निस्कर्ष सहित राष्ट्र बैंकले संशोधन प्रस्ताव अघि सारेको हो ।

अब ऐन परिमार्जन भएर आउँदा उद्योग धन्दा गर्ने वा व्यवसायिक क्षेत्रमा रही कर्जाको कारोबार गर्ने व्यक्ति सञ्चालकहरुमा बस्न पाउने छैनन् ।ऐन परिमार्जनको तयारीमा मै राष्ट्र बैंकले क्रस होल्डिङ भएका बैंकको सूची समेत तयार पारेको छ ।