काठमाडौं, भदौ ३ – रोनाल्ड कोएम्यानलाई बार्सिलोना क्लबको नयाँ प्रशिक्षक बनाइएको छ । कोएम्यानले बुधवार क्लबसँग औपचारिक सम्झौता गरेका छन् ।
उनीसँग क्लबले सन् २०२२ को जुन ३० सम्मका लागि सम्झौता गरेको छ ।क्लब अध्यक्ष जोसेप मारिया बार्तोमेउले सोमवार नै यसको संकेत दिइसकेका थिए । कोएम्यान नेदरल्यान्ड्स राष्ट्रिय टीमका प्रशिक्षक हुन् ।
लियोनेल मेस्सीले क्लब छोड्न लागेको हल्लाका सम्बन्धमा बर्तोमेउले भने, ‘मेस्सी आफ्नो करीयर बार्सिलोनामा अन्त्य गर्न चाहन्छन् । उनले धेरैपटक त्यो कुरा भनिसकेका छन् ।’
‘
मैले कोएम्यानसँग कुरा गरिसकेको छु र मेस्सी क्लबको पुनर्जागरण अभियानका खम्बा हुन्,’ उनले भने । बार्तोमेउले क्लबमा आमूल परिवर्तन हुने बताए ।
कोएम्यानले बार्सिलोनाका लागि सन् १९८९ देखि १९९५ सम्म खेलेका थिए । उनी छँदा क्लबले चारवटा लीग उपाधि र युरोपीयन कप जितेको थियो ।
च्याम्यिन्स लीगको प्रिक्वार्टरफाइनलमा बार्सिलोनाले जर्मन क्लब बायर्न म्युनिखसँग ८–२ को लज्जास्पद पराजय बेहोरेपछि प्रशिक्षक किके सेटिएनलाई हटाइएको थियो ।
FACEBOOK COMMENTS