श्रावण ३२ – बायर्न म्युनिक र बार्सिलोनाबीच शुक्रबारको खेल कस्तो रह्यो भने यसबारे चर्चा गर्दा जित्नेको भन्दा हार्नेको बढी छ । यसको कारण पनि स्पष्ट छ, बार्सिलोना यसरी हार्नेछ, त्यो कसैले सोचेको थिएन । अनि यो यस्तो पनि हार रहेको छ, जसबाट माथि उठ्न बार्सिलोनालाई पटक्कै सजिलो हुने छैन । यो काम वास्तवमै कति गाह्रो छ, त्यो ब्राजिललाई सोधे हुन्छ ।
सन् २०१४ को विश्वकप सेमिफाइनलमा जर्मनीले आयोजक ब्राजिललाई ७–१ ले हराएको थियो र यो पनि त्यतिबेला अकल्पनीय नतिजा थियो । थोमस मुलरले यसपल्ट बायर्नका लागि पनि गोल गरे । त्यतिबेला उनले जर्मनीका लागि पनि गोल गरेका थिए । दुवै अवसरमा गोल सुरुवाती नै थियो ।

उनले पनि यी दुई खेलका एक आपसमा तुलना गर्न खोजेका छन् । उनले भनेका छन्, ‘ब्राजिलमा भएको त्यस खेलमामाथि हाम्रो मात्रै पूर्ण पकड थिएन । तर जर्मनी राम्रै टिम थियो । तर बार्सिलोनाविरुद्ध प्राप्त जित एकपक्षीय जस्तै रह्यो । खेलमाथि हाम्रो नियन्त्रण पूरा रह्यो र यो मेरो हिसाबमा पनि निर्दयीपूर्ण रह्यो ।’
त्यो खेलपछि जर्मनीले फाइनलमा लियोनल मेसीकै अर्जेन्टिनालाई हराएर विश्वकप उपाधि चुमेको थियो । मुलरलाई डर के छ भने यस्तो ठूलो अन्तरको खेल जितेपछि लगत्तै हुने अर्को खेलमा राम्रो गर्न गाह्रो हुन्छ । अहिलेका बायर्नका प्रशिक्षक हुन्, हान्सी फ्लिक । जर्मनीले विश्वकप जित्दा टिमका सहायक प्रशिक्षक थिए, उनी ।
उनी जोचिम लोका सहयोगी थिए । उनले पनि दुई खेलको तुलना गर्दै भनेका छन्, ‘म कुनै प्रकारको तुलना चाहँदिन। खालि एउटा तथ्य मात्र दाबी गर्न चाहन्छु, बायर्नले आज निकै राम्रो खेलेको हो ।’ अबका केही घण्टा अथवा दिनमा बार्सिलोनामा ठूलो परिवर्तन आउने अनुमान गरिएको छ ।
