आजको आधुनिक युगमा सूचना प्रविधिको विकाससँगै सामाजिक सञ्जाल बालबालिकाको जीवनको महत्वपूर्ण हिस्सा बनेको छ । फेसबुक, युट्युब, टिकटक, इन्स्टाग्राम जस्ता माध्यमहरू अहिलेका बालबालिकाहरूका लागि मनोरञ्जन, सिकाइ र अभिव्यक्तिको मुख्य साधन बनेका छन् । तर, यसको प्रभाव सकारात्मक र नकारात्मक दुवै रूपमा देखिएको छ ।
सबैभन्दा पहिले सकारात्मक पक्षको कुरा गर्दा, सामाजिक सञ्जालले बालबालिकाहरूलाई नयाँ–नयाँ ज्ञान र जानकारी प्राप्त गर्ने अवसर दिएको छ । उनीहरूले विभिन्न शैक्षिक भिडिओहरू हेरेर नयाँ कुरा सिक्न सक्छन् । युट्युब जस्ता प्लेटफर्ममा गणित, विज्ञान, भाषा आदिका पाठहरू सजिलै उपलब्ध हुन्छन् । साथै, सामाजिक सञ्जालले उनीहरूको सृजनात्मकता पनि बढाएको छ । धेरै बालबालिकाहरू आफ्ना प्रतिभा जस्तै: नृत्य, गायन, चित्रकलालगायत प्रदर्शन गर्न सक्षम भएका छन् ।
यसैगरी, सामाजिक सञ्जालले संसारभरका मानिसहरूसँग जोडिने अवसर पनि दिएको छ । बालबालिकाहरूले विभिन्न संस्कृति, परम्परा र जीवनशैलीहरूबारे जानकारी पाउन सक्छन् । यसले उनीहरूको सोचाइ फराकिलो बनाउने काम गरिरहेको छ ।
सँगसँगै यसका नकारात्मक प्रभावहरू पनि त्यत्तिकै गम्भीर छन् । अत्यधिक प्रयोगले बालबालिकाहरूको पढाइमा असर पारिरहेको छ । धेरै समय मोबाइलमा बिताउँदा उनीहरूको ध्यान पढाइबाट विचलित भइरहेको छ । साथै, आँखाको समस्या, निद्राको कमी र शारीरिक गतिविधि कम हुने जस्ता स्वास्थ्य समस्याहरू पनि बढिरहेका छन् ।
अर्कोतर्फ, सामाजिक सञ्जालमा गलत सूचना, हिंसात्मक सामग्री र अनुपयुक्त सामग्रीको पहुँचले बालबालिकाको मानसिक विकासमा नकारात्मक असर पारिरहेको छ । कहिलेकाहीँ उनीहरू अरूको जीवनसँग तुलना गरेर आत्मविश्वास घटाउने समस्या पनि उत्तिकै देखिन्छ । साइबर बुलिङजस्ता समस्याहरूले बालबालिकाको मनोबल कमजोर बनाउन भूमिका खेलिरहेको छ ।

आजको डिजिटल युगमा बालबालिकाहरू सामाजिक सञ्जालबाट धेरै प्रभावित भइरहेका छन् । यसको नकारात्मक प्रभावलाई कम गर्न अभिभावकको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । यदि अभिभावक सचेत र सक्रिय भए भने बालबालिकालाई गलत प्रभावबाट जोगाउन सकिन्छ ।

नकारात्मक प्रभाव रोक्न परिवारको भूमिका

१) अभिभावकले बालबालिकासँग खुला संवाद : उनीहरू के हेर्छन्, के सिक्छन् र कसरी समय बिताउँछन् भन्ने कुरा बुझ्न आवश्यक हुन्छ । डर देखाएर होइन, मित्रवत व्यवहार गरेर मार्गदर्शन गर्दा बालबालिका आफ्नो समस्या सहज रूपमा अभिभावकसँग साझा गर्न सक्छन् ।
२) अभिभावकले समय व्यवस्थापन : बालबालिकाले कति समय मोबाइल वा सामाजिक सञ्जालमा बिताउने भन्ने निश्चित सीमा निर्धारण गर्नुपर्छ । अत्यधिक प्रयोगले पढाइ र स्वास्थ्यमा असर पार्न सक्छ, त्यसैले सन्तुलन कायम गराउनु आवश्यक हुन्छ ।
३) राम्रो सामग्री छनोट गर्न सिकाउने : सबै सामग्री उपयोगी हुँदैनन्, त्यसैले बालबालिकालाई शैक्षिक र सकारात्मक सामग्रीतर्फ आकर्षित गर्नुपर्छ । साथै, गलत वा हानिकारक सामग्रीबाट टाढा रहन सिकाउनु पनि महत्वपूर्ण हुन्छ ।
४) अभिभावकले आफू पनि उदाहरण बन्ने : यदि अभिभावक नै दिनभर मोबाइलमा व्यस्त छन् भने बालबालिकाले पनि त्यही सिक्छन् । त्यसैले परिवारभित्र सन्तुलित डिजिटल व्यवहार देखाउनु आवश्यक हुन्छ ।
यसका साथै, बालबालिकालाई खेलकुद, पुस्तक पढ्ने बानी र अन्य सिर्जनात्मक गतिविधिमा संलग्न गराउनु पनि महत्त्वपूर्ण हुन्छ । यसले उनीहरूलाई सामाजिक सञ्जालको अत्यधिक प्रयोगबाट टाढा राख्न मद्दत गर्छ ।
नकारात्मक प्रभाव रोक्न विद्यालयको भूमिका
सामाजिक सञ्जालको नकारात्मक प्रभावबाट बालबालिकालाई जोगाउन विद्यालयको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । विद्यालयले केवल पढाइ मात्र होइन, सही आचरण र जीवन उपयोगी सिप पनि सिकाउने स्थान भएकाले यस क्षेत्रमा सक्रिय रूपमा पहल गर्नुपर्छ ।
१) डिजिटल साक्षरतासम्बन्धी शिक्षा : डिजिटल साक्षरतासम्बन्धी शिक्षाले विद्यार्थीलाई सामाजिक सञ्जाल कसरी सुरक्षित र जिम्मेवार तरिकाले प्रयोग गर्ने भन्ने ज्ञान दिन्छ ।
२) छलफल : शिक्षकहरूले कक्षामा सामाजिक सञ्जालको सही र गलत प्रयोगबारे नियमित रूपमा छलफल गर्दा यसले विद्यार्थीहरूमा सचेतना बढाउँछ र उनीहरूले आफैं सही निर्णय लिन सक्ने क्षमता विकास गर्छन् ।
३) विद्यालयले समय व्यवस्थापन र अनुशासनमा जोड : विद्यालयले विद्यार्थीलाई गृहकार्य, खेलकुद र अन्य क्रियाकलापमा व्यस्त राख्दा विद्यार्थीहरू अनावश्यक रूपमा सामाजिक सञ्जालमा समय बिताउने बानीबाट टाढा रहन्छन् ।
४) विद्यालयमा परामर्श सेवा उपलब्ध : यदि कुनै विद्यार्थी सामाजिक सञ्जालको नकारात्मक असरबाट प्रभावित भएको छ भने, उसलाई समयमै परामर्शका माध्यमबाट सहयोग गर्न सकिन्छ । विद्यालयमार्फत उपलब्ध गराइने यस प्रकारको परामर्श अति उपयोगी र भरपर्दो हुन्छ ।
४) विद्यालय र अभिभावकबीच सहकार्य : नियमित अभिभावक–शिक्षक भेटघाटमार्फत विद्यार्थीको व्यवहार र गतिविधिबारे जानकारी आदानप्रदान गर्दा समस्या छिटो समाधान गर्न सकिन्छ ।
समग्रमा हेर्दा, सामाजिक सञ्जालले बालबालिकामा सकारात्मक र नकारात्मक दुवै प्रभाव पारेको छ । यसका नकारात्मक असरहरूलाई कम गर्न अभिभावक, विद्यालय र स्वयम् विद्यार्थी सबैको समान भूमिका आवश्यक हुन्छ । अभिभावकले उचित निगरानी र मार्गदर्शन दिनुपर्छ, विद्यालयले शिक्षा, सचेतना र अनुशासनमा जोड दिनुपर्छ र विद्यार्थीले पनि जिम्मेवार र सन्तुलित रूपमा यसको प्रयोग गर्न सिक्नुपर्छ । जब यी सबै पक्षहरूबीच सहकार्य र समझदारी हुन्छ, तब मात्र सामाजिक सञ्जाललाई सुरक्षित र उपयोगी माध्यमका रूपमा प्रयोग गर्न सकिन्छ ।