काठमाडौ, २९ कार्तिक- जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्त नेपाल विद्युत् प्राधिकरणको स्युचाटारमा रहेको भार प्रेषण केन्द्र (एलडीसी) पुग्नुभएको छ ।
देशभरको विद्युत् आपूर्तिको अवस्थाबारे प्रत्यक्ष निरीक्षणका लागि मन्त्री पुन प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसहित एलडीसी पुग्नुभएको हो । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार अन्तर्गत लक्ष्मी पूजाका दिन वर्षभरिकै सबैभन्दा बढी विद्युत् खपत हुन्छ । उपत्यकासहित देशका मुख्य सहरी क्षेत्रमा झिलिमिली बत्तीका कारण लक्ष्मी पूजाको समयमा विद्युत् माग अत्यधिक हुन्छ ।
विद्युतको माग बढी हुने समयमा माग र आपूर्तिको सन्तुलन नखल्बलियोस् भन्नका लागि आफै एलडीसीमा पुगेको मन्त्री पुनले बताउनुभयो । ‘तिहारको समयमा बत्ती नजाओस् र सबैले उज्यालोमा लक्ष्मी पूजा गर्ने अवस्था होस् भन्नका लागि माग र आपूर्तिको अवस्थाको प्रत्यक्ष जानकारी लिन र आवश्यक निर्देशनका लागि आएको हुँ’, मन्त्री पुनले भन्नुभयो ।
प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका मन्त्री पुनले व्यवस्थित योजनासहित माग र आपूर्तिको व्यवस्थापन गरिएकाले कतै बत्ती नजाने भन्दै ढुक्कले उज्यालोमा तिहार मनाउन आम देशबासीलाई अपिल गर्नुभयो । सञ्चालक समितिको निर्णयअनुसार प्राधिकरणका देशैभरका उत्पादन, वितरण र प्रसारण केन्द्रका प्रमुखहरुलाई तिहारको अवधिमा कार्यालय नछाड्न परिपत्र गरिएको छ ।
FACEBOOK COMMENTS