काठमाडौं, असोज ११ – सरकारले किट उपलब्ध नगराएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोनाको पीसीआर परीक्षणको शुल्क लिने भएको छ । पीसीआर परीक्षण गर्न सरकारले किट उपलब्ध नगराएकाले प्रतिष्ठानले आफ्नो किटबाट परीक्षण गर्दा २ हजार रुपैयाँ शुल्क लिने भएको हो ।
प्रतिष्ठानका अस्पताल निर्देशक डा. गौरीशंकर शाहले विज्ञप्ति जारी गर्दै प्रदेश र संघीय सरकारबाट पीसीआर परीक्षणका लागि उपलब्ध गराउँदै आएको किट, रिएजेन्ट लगायत आवश्यक सामग्री उपलब्ध हुन नसकेकोले निःशुल्क सेवा दिन नसकिएको जानकारी गराएका छन् ।
सूचनामा प्रतिष्ठान आफैले किट खरीद गरेर पीसीआर परीक्षण गर्नुपर्ने भएपछि शुल्क लिनुपर्ने अवस्था आएको उल्लेख छ । साथै प्रतिष्ठानको कोभिड अस्पताल, आइसोलेसन र प्रतिष्ठानकै अन्य क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मी तथा कर्मचारीको पीसीआर परीक्षण आवश्यक भएमा मात्र चिकित्सकको सिफारिशमा निःशुल्क गरिने बताइएको छ । चिकित्सकले सिफारिश गरेका बाहेक प्रतिष्ठानकै अन्य चिकित्सक र कर्मचारीले तथा बाहिरका व्यक्तिले पनि पीसीआर परीक्षण गर्न चाहेमा सरकारले तोकेको न्यूनतम शुल्क २ हजार भुक्तानी गर्नुपर्नेछ ।
FACEBOOK COMMENTS