काठमाडाैं, फागुन २८ – बीबीसी नेपाली सेवाका पूर्व पत्रकार सुशील शर्माको निधन भएको छ । शुक्रबार २ : १५ बजे पत्रकार शर्माको निधन भएको हो । काठमाडौंको चावहिलस्थित ओम अस्पतालमा उनलाई तीन दिन अघि भर्ना गरिएको थियो । उपचारका क्रममा उनको निधन भएको बताइएको छ ।
पत्रकार शर्माले बीबीसी नेपाली सेवा, कम्पास फिचर न्युज फिचर्स, स्पटलाइट म्यागजिन, द काठमाडौं पोस्ट र द राइजिङ नेपाल मा काम गरेका थिए । सन् १९८४ देखि २०११ मा उनी सक्रिय पत्रकारितामा थिए । पछिल्लो समय बीबीसी नेपाली सेवा छोडेर स्वतन्त्र अध्ययन, अनुसन्धानमा सक्रिय थिए । मिसन पोसिबल नेपाल भन्ने संस्थामा उनको आबद्धता थियो ।
त्रिभुबन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका शर्माले अमेरिकाको युनिभर्सिटि अफ क्यालिफोर्नियाबाट आमसञ्चार तथा पत्रकारिता विषय अध्ययन गरेका थिए । शर्माको निधनले एकदमै दु:ख लागेको पत्रकार धुब्रहरि अधिकारीले बताए । ‘संगसँगै काम गरेको साथीको निधनले अत्यन्तै दु:ख लागेको छ ।’ अधिकारीले भने । यस्तै वरिष्ठ पत्रकार राजेन्द्र दाहालले शर्माको निधनप्रति दु:ख व्यक्त गरेका छन् ।
FACEBOOK COMMENTS