गोरखा,मंसिर १६ – बुढीगण्डकी आयोजनाले तोकेको मुआब्जा रकम कम भएको भन्दै गोरखाको आरुघाटका बासिन्दा आन्दोलनमा उत्रिएका छन् ।
आयोजनाले गरेको मुआब्जा निर्धारण आफूहरुको मागभन्दा निकै कम भएको भन्दै स्थानीय बासिन्दाले वजार बन्द गरी आन्दोलन सुरु गरेका छन् । चोकचोकमा जम्मा भएका आरुघाटवासीले ठाउँठाउँमा टायर बालेर प्रदर्शन गरेका छन् ।
मुआब्जा निर्धारण समितिको संयुक्त बैठकले धादिङको आरुघाट र खहरे तथा गोरखाको आरुघाट र आर्खेतमा डुबानमा पर्ने जग्गालाई विभिन्न समूहमा वर्गिकरण गरि मूल्य निर्धारण गरिएको थियो ।
जसअन्तरगत आरुघाट बजारतर्फ मुख्य सडकले छोएको ठाउँमा आनाको साढे २ लाखदेखि ७ लाख रुपैयाँसम्म, सहायक मार्ग भएका ठाउँमा आनाको २ लाख २५ हजारदेखि ३ लाखसम्म, गोरेटो बाटो भएका जग्गामा आनाको १ लाख ५० हजार र कुनैपनि प्रकारका बाटो नभएको जग्गामा आनाको ५० हजार रुपैयाँ तोकिएको थियो।
त्यस्तै धादिङको खहरे बजारतर्फ मुख्य सडकसँग जोडिएको १०० फिटसम्मको जग्गालाई आनाको ९० हजारदेखि १ लाख २० हजारसम्म मुआब्जा तोकिएको छ। त्यस्तै १०० फिटको रेन्ज भन्दा बाहिरको जग्गालाई आनाको ५० हजार तोकिएको छ ।
आर्खेत बजारमा मोटरवाटो दायावायाका घडेरी र घर भएका जग्गाहरुको प्रति आना १ लाख २० हजार मुआब्जा निर्धारण गरिएको छ । आर्खेत बजार क्षेत्रका अन्य डुवानमा पर्ने जग्गाहरुले प्रति आना ५० हजार रुपैयाँ पाउने छन् ।
सम्पूर्ण घर जग्गा अधिग्रहणमा परी विस्थापित हुने र अन्यत्र कहिँ कतै घरजग्गा नभएका विस्थापितहरु, २.५ आना सम्म जग्गा हुने र २.५ आना देखि ५ आनासम्म मात्र जग्गा हुने परिवारले मुआब्जामा क्रमश १५ र १० प्रतिशत थप गरी मुआब्जा रकम वितरण गर्ने निर्णय मुआब्जा निर्धारण समितिले गरको छ ।
गोरखाको आरुघाटका बासिन्दाले पुरानो व्यापारिक केन्द्र, गोरखा हुँदै चीन जाने सडक र मध्यपहाडी लोकमार्गले समेत जोडेको बजारक्षेत्र भएकाले जग्गाको अवस्था अनुसार २५ लाख रुपैयाँसम्म मुआब्जा निर्धारण हुनुपर्ने माग गर्दै आएका थिए ।
FACEBOOK COMMENTS