काठमाडौं, मंसिर २९ – सेयर बजार निरन्तर उछाल कायम छ। बुलिस बाटोमा सेयर बजार चम्किएको छ। पुरानो रेकर्ड तोडेर नेप्से लगातार उकालो लागेपछि लगानीकर्ताहरु उत्साहित भएका छन्। कारोबार रकममा उत्साहसँगै नेप्से सूचक भारी वृद्धि भएको छ।
सोमबार नेप्से सूचक ५६.७२ अंकले बढेर २०६७.१७ विन्दुमा आइपुगेको छ । २०२ कम्पनीको ७ अर्ब २० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । १ करोड २८ लाख ८८ हजारभन्दा बढी कित्ता कारोबार भएका छन् । हाइड्रोपावरबाहेक बाँकी सबै समूहमा हरियाली छाएको छ। नेप्से सूचक अर्को ऐतिहासिक उचाइ चुम्ने दिशामा उन्मुख भएको विश्वास लगानीकर्ताले गरेका छन्। खासगरी बिमा, व्यापारिक, उत्पादनमूलक र अन्य समूहमा व्यापक बढी उछाल देखिएको छ ।
गत साउनको पहिलो हप्ता नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले प्रदान गरेको सहुलियत र राहतले लगानीकर्ता उत्साहित भएका छन्। त्यसपछि नै सेयर बजारमा सुधारको क्रम सुरु भएको थियो। पुँजी बजारप्रति अनुदार देखिएको तत्कालीन अर्थमन्त्री युवराज खतिवडाको बहिर्गमन र नयाँ अर्थमन्त्री विष्णु पौडेलको नियुक्तिपछि सेयर बजारमा बेग्लै माहोल सुरु भएको हो।
यसअघि पनि पौडेल अर्थमन्त्री हुँदा सेयर बजारले नयाँ रेकर्ड तोडेको थियो। नेप्से सूचकले यसअघिको सर्वाधित उच्च विन्दु १८८१ क्रस भएपछि लगानीकर्तामा बेग्लै खुसी छाएको हो। पुँजी बजारलाई प्रोत्साहित गर्ने नयाँ अर्थमन्त्रीको नीतिगत तयारीसँगै लगानीकर्ताहरू उत्साहित भएका हुन्। संकटका बेला लगानीका अरु क्षेत्र खुम्चिएको तथा जोखिम बढेकोले पनि लगानीकर्ताहरू सेयर बजार प्रति बढी आकर्षित देखिएका छन्। सस्तो ब्याजदरमा सुलभ रुपमा सेयर कर्जा उपलब्ध हुनु तथा पुँजी बजारलाई प्रोत्साहन गर्नेतिर अर्थमन्त्री, गभर्नर तथा अन्य सरोकारवाला निकायको भूमिका सकारात्मक देखिएकोले पनि लगानीकर्तामा आत्मविश्वास र उत्साह जागेको हो।
पुँजी बजारलाई प्रोत्साहित गर्ने सरकारको नीति तथा पुँजी बजारको भविष्यप्रति आम लगानीकर्ताका वलियो विश्वासका कारण बजारमा उछाल आएको सेयर बजारमा विज्ञहरूबताउँछन्। पुँजी बजार परिपक्क ढंगले अब विस्तारै बुलिस ट्रेन्डतिर उन्मुख भएको उनीहरूको दाबी छ।
