काठमाडौं – बेरुजु फर्छ्यौट नगर्ने कर्मचारीहरुको सरुवा बढुवा रोकिने भएको छ ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा बेरुजु फर्छ्यौट नगर्ने कर्मचारीहरुको सरुवा र बढुवा दुबै रोक्न प्रस्ताव गरिएको हो ।
सो एनेमै नियमित प्रक्रियाबाट असुल उपर नभएको बेरुजुलाई सरकारी बाँकी सरह मानेर सम्बन्धीत अधिकारीको जायजेथा बेचेर असुल गर्न प्रस्ताव गरिएको छ ।
ऐन सम्बन्धी विधेयक हाल संसदमा दर्ता भएको छ । ऐनको परिच्छेद ७ को दफा ४ मा बेरुजु फछ्र्यौट नगरि सरुवा बढुवा हुन नपाउने व्यवस्था अघि सारिएको हो ।
त्यस्तै, परिच्छेद ८ को दफा ४६ मा नियमित प्रक्रियाबाट असुल उपर नभएको बेरुजु सरकारी बाँकीको रुपमा रहने र सम्बन्धीत कर्मचारीबाट असुल उपरि गरिने उल्लेख छ । त्यस्तो रकम सम्बन्धीत कर्मचारीको जायजेथा बेचेर असुल उपर हुनेछ ।
आर्थिक कार्यविधि ऐन, २०५५ लाई खारेज गरेर ल्याउन लागिएको नयाँ ऐनले वित्तिय उत्तरदायित्वलाई महत्व दिएको छ ।
यो ऐनले सार्वजनिक खर्च प्रणालीलाई व्यवस्थित बनाउनका लागि योजना आयोगले आवधिक योजनाको आधारमा आगामी ३ वर्ष अवधीको मध्यकालिन खर्च संरचना तयार गर्नुपर्नेछ । त्यसका लागि सबै मन्त्रालयहरुले ३ वर्षमा हुने खर्चको प्रक्षेपण पनि पठाउनुपर्नेछ ।
सोही खाकाका आधारमा विभिन्न मन्त्रालय र आयोजनाहरुका लागि बजेट विनियोजन गरिनेछ ।
FACEBOOK COMMENTS