मंसिर २७, लन्डन (बेलायत) । बेलायतमा बिहीवार भएको आम निर्वाचनमा सत्तारुढ कन्जर्भेटिभ पार्टीले स्पष्ट बहुमत हासिल गरेको छ । ६५० मध्ये ६३९ स्थानको मतपरिणाम आइसक्दा कन्जर्भेटिभ पार्टीको गठबन्धनले ३५७ स्थानमा जित हात पारेको हो । बहुमतका लागि ३२६ सिट आवश्यक पर्छ । संसद्मा यस अघिकोभन्दा कन्जर्भेटिभ पार्टीले ४७ सिट थपिसकेको छ ।
यो नतिजासँगै लामो समयदेखि विवादमा रहेको यूरोपेली संघ (ईयू)सँगको ब्रेक्जिट सम्झौता संसद्बाट पारित गराउन प्रधानमन्त्री बोरिस जोन्सनलाई बाटो खुल्ने अपेक्षा छ । उक्त सम्झौता संसद्बाट पारित भए जनवरी ३१ बाट आधिकारिक रुपमा बेलायत ईयूबाट छुट्टिनेछ । विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनले बिहीवारको रात आफूहरुको लागि निकै निराशाजनक रात रहेको बताए । उनले आफू अर्को निर्वाचनमा नउठ्ने घोषणासमेत गरेका छन् । लेबर पार्टीले सन् २०१७ मा जितेको धेरै सिटहरु पनि गुमाएको छ ।
प्रधानमन्त्री जोन्सनले जनताले आफूहरुलाई ब्रेक्जिट समयमा नै गराउन जनादेश दिएको प्रतिक्रिया दिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि बेलायतको यो निर्वाचनमा बोरिस जोन्सनलाई ठूलो सफलता मिलेको प्रतिक्रिया दिएका छन् । एजेन्सी
FACEBOOK COMMENTS