काठमाडौं, मंसिर ८ – बेलायत सरकारले इंग्ल्यान्डमा डिसेम्बर २ सम्म लागू लकडाउन अन्त्य गर्दै क्षेत्रगत प्रतिबन्धहरू लगाउने तयारी गरेको छ । सरकारले डिसेम्बर २ पछि इंग्ल्यान्डमा लगाइएको राष्ट्रिय लकडाउन अन्त्य गरी जोखिम र संक्रमण वृद्धिका आधारमा टियर १, २ र ३ जस्ता क्षेत्रगत प्रतिबन्ध लागू गर्ने तयारी गरेको बेलायती अखबारहरूले जनाएका छन् ।
लकडाउन हटे पनि नयाँ प्रतिबन्ध भने थप कडा हुने समाचारमा उल्लेख छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार संसद्मा यसबारे जानकारी दिने बताइएको छ । क्रिसमसका बेला फरक घरका मानिससँग समेत भेटघाट गर्ने वातावरण मिलाउन जोन्सनले नयाँ योजना बनाइरहेका छन् ।
सरकारले क्रिसमस पर्वलाई मध्यनजर गर्दै डिसेम्बर २२ देखि २८ सम्म कयौं घरपरिवारका मानिस भेट्न अनुमति दिने तयारी गरिरहेको डेली टेलिग्राफले जनाएको छ । तर सरकारका मन्त्रीहरूले क्रिसमस विगत जस्तो सामान्य नहुने र केही प्रतिबन्ध भने कायमै रहने बताएका छन् ।
आफैं अहिले आइसोलेसनमा रहेका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले कोरोना महामारी नियन्त्रणका लागि सरकारको ‘कोभिड विन्टर प्लान’ का सम्बन्धमा आइतबार मन्त्रिपरिषद्मा छलफलपछि संसद् हाउस अफ कमन्समा योजना सार्वजनिक गर्ने तयारी छ । सरकारको उक्त योजनामा कोभिड खोप वितरण, उपचार र परीक्षण दायरा बढाउनेबारे पनि समावेश हुने बताइएको छ ।
FACEBOOK COMMENTS