काठमाडौं, माघ २४- ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले दिएको जानकारी अनुसार बेलायतमा पछिल्लो २४ घन्टामा थप १०१४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक लाख ११ हजार २६४ पुगेको छ । मृतक संख्याका आधारमा बेलायत विश्वको पाँचौं स्थामा पर्दछ ।
यसैगरी शुक्रबार सार्वजनिक तथ्याँकअनुसार पछिल्लो २४ घन्टामा १९ हजार ११४ जना नयाँ संक्रमित थपिएका छन् । नयाँ थपिएका संक्रमितसँगै बेलायतमा कोरोना संक्रमितको संख्या ३९ लाख ११ हजार ५७३ पुगेको छ । बेलायतमा कोरोना संक्रमण दर पछिल्लो समयमा केहि कम भएको तथ्याँकले देखाएको छ । हाल बेलायतमा कोरोना संक्रमण दरको सूचक मानिने ‘आर” नम्बर ०।७ र १ को बीचमा रहेको छ ।
शुक्रबार सार्वजनिक तथ्याँकअनुसार बेलायतमा एक करोड ९ लाख भन्दा बढीले कोरोना विरुद्धको खोपको पहिलो डोज लिइसकेका छन् । डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले दिएको जानकारी अनुसार हालसम्म एक करोड ९ लाख ७१ हजार ४७ जनाले खोपको पहिलो डोज लिएका छन् ।
जसमध्ये पाँच लाख पाँच हजार ९९३ जनाले खोपको दोस्रो (अन्तिम) डोज लिइसकेको स्वास्थ्य विभागले जनाएको छ । बेलायतमा ५० वर्ष माथिका सबैलाई आउँदो मेभित्रमा कोरोना विरुद्धको खोप दिईसक्ने बेलायती प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । यसअघि प्रथामिकताका आधारमा विभिन्न नौ वटा समूहमा विभाजन गरी खोप वितरण गरिने बताइएको थियो ।
FACEBOOK COMMENTS