काठमाडौं । चलचित्र ‘बेहुली फ्रम मेघौली’ले ओटीटीमा रिलिज भएको १० दिनमा १९ हजारभन्दा धेरै दर्शकले हेरेका छन् ।
यो भ्यूजअनुसार फिल्मले ७६ लाख रुपैयाँभन्दा धेरै कमाइ गरेको छ । निर्माता तथा अभिनेता निश्चल बस्नेतले मंगलबार बेलुका ओटीटी भ्यूजको तथ्यांक सार्वजनिक गरेका हुन् ।
यसो हो भने हलको विकल्प खोज्न भइरहेको वैकल्पिक प्लाटफर्मको यो प्रयास उपलब्धिमूलक हो । साजन काफ्ले र आकाश बराल निर्देशित फिल्म एमएसएम भिडियो नामक ओटीटी प्लाटफर्ममा रिलिज भएको थियो । दर्शकले निश्चित शुल्क तिरेर यो ओटीटीमा फिल्म हेर्न सक्नेछन् ।
फिल्म हेर्न एक दिनका लागि २९८ दशमलव २० रुपैयाँ र एक साताका लागि ४२० रुपैयाँ तोकिएको छ । निर्माता तथा अभिनेता बस्नेतले आफ्नो फिल्मलाई उचित शो नदिएको भन्दै हलको विकल्प खोज्ने बताएका थिए । उनले यसो भनेको केही दिनमै फिल्मलाई ओटीटी प्लाटफर्ममा रिलिज गरिएको हो ।
FACEBOOK COMMENTS