काठमाडौं, भदौ २ – तपाइँको मोबाइल बैंकिङको पासवर्ड हरायोरु वा अनलाइन बैंकिङकोरु यसअघि बैंकमा धाएर निवेदन नलेखेसम्म बैंकका कर्मचारीले तपाइँलाई सेवा दिँदै थिए। कोभिडका कारणले अब यो सेवा फोनबाटै पाइने भएको छ।
नेपाल बैंकर्स संघले सोमबार सार्वजनिक अपिल गर्दै अब यस्ता सेवा फोनबाटै लिन भनेको छ। बैंकर्स संघमा २७ वटै वाणिज्य बैंकहरु सदस्य छन्।
संघले डिजिटल बैंकिङ प्रयोग गर्न कुनै पनि प्राविधिक समस्या भएमा, पासवर्ड बिर्सिएमा वा अन्य कुनै अप्ठ्यारो परेको खण्डमा सम्बन्धित बैंकको शखामा फोनमार्फत् सम्पर्क गरि सहयोग लिन अपिल गरेको छ।
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ को प्रभावबाट बच्न तथा जोखिमहरु न्यूनीकरणका लागि बैंकिङ कारोबार गर्दा डिजिटल माध्यमको प्रयोग गर्न संघले माग गरेको हो।
डिजिटल बैंकिङ (मोबाइलरइन्टरनेट बैंकिङ) को माध्यमबाट प्रायस्जसो सबै प्रकारका दैनिक कारोबार गर्न सकिने हुनाले डिजिटल बैंकिङ सेवाको अझ बढी प्रयोग गर्न संघले भनेको छ।

एउटा खाताबाट अर्को कुनै खातामा रकम जम्मा गर्न, विभिन्न बिलहरु भुक्तानी गर्न, आफ्नो खाताको कारोबार विवरण हेर्न, खातामा रहेको रकम हेर्ने जस्ता काम घरमै बसेर गर्न पनि भनेको छ।

संघले आफ्नो खाता वा खातावाट भएको कारोबारको सिलसिलामा कुनै पनि जानकारी वा प्रश्न भएमा समेत सम्बन्धित शाखामा फोन मार्फत् सम्पर्क गर्न सकिने जनाएको छ। आवश्यक नपरी बैंक नजान भनिएको छ।

पछिल्लो समय बैंकमा काम गर्ने कर्मचारीहरुलाई कोरोना संक्रमण देखिन थालेको छ। खासगरी सीमावर्ती शहरका शाखाहरुमा अधिकांश बैंकका कर्मचारी र परिवारलाई कोरोना संक्रमण देखिन थालेको छ। काठमाडौं उपत्यकामा रहेका बैंक तथा वित्तीय संस्थाका कर्मचारीमा पनि संक्रमण देखिन थालेको छ।