काठमाडौँ, श्रावण २७ – बैंकमा ग्राहकको भीड कम गर्ने उद्देश्यले काउन्टर खुल्ने समय घटाउन बैंकर्स संघले वाणिज्य बैंकहरूलाई निर्देशन दिएको छ । संघले सोमबार सूचना जारी गरी काउन्टर समय बिहान १० देखि दिउँसो ३ बजेसम्म बनाउन भनेको हो ।
हाल केही बैंकले १० देखि ४ बजेसम्म पनि काउन्टर खुला गर्ने गरेका छन् । कोरोनाकै जोखिमका कारण बैंकका ‘इभिनिङ काउन्टर’ यसअघि नै बन्द भएका छन् ।
नजिक नजिक शाखा भएका स्थानका शाखा आलोपालोमा खोल्न पनि संघले आग्रह गरेको छ । ‘नजिकका शाखा एउटा नखोल्दा ग्राहकले अर्को शाखाबाट सेवा लिन सक्छन,’ संघका कार्यकारी निर्देशक अनिल शर्माले भने, ‘त्यस्ता शाखा आलोपालो गरी चलाउन भनेका हौं ।’
अत्यावश्यक बैंकिङ सेवा जस्तै क्लियरिङ, ट्रेजरीलगायत निरन्तर चलाउन ‘कन्टिन्युटी प्लान’ बनाउन पनि संघले भनेको छ । ‘कुनै एक कार्यालयका कर्मचारीमा कोरोना पुष्टि भए सो कार्यालय सिल हुन्छ,’ शर्माले भने, ‘यस्तो त्यहाँबाट सञ्चालित अत्यावश्यक सेवा नरोकियोस् भन्ने हाम्रो उद्देश्य हो ।’ यसका लगि बैंकलाई वैकल्पिक व्यवस्थाका लागि योजना बनाउन भनिएको उनले बताए ।
कार्यालयमा सामाजिक दूरी कायम गर्न, मास्क, सेनिटाइजरलगायत सुरक्षाका उपाय अपनाउन पनि संघले भनेको छ । बाहिर बनाएको खाजा नखान र धेरै भीड नगर्न पनि संघले भनेको छ । राष्ट्र बैंकले पनि आइतबार सूचना जारी गरी कर्मचारीको आलोपालो र सम्भव भएसम्म घरबाटै काम गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । कोभिडको जोखिम व्यवस्थापन गर्न आवश्यकताअनुसार समूह विभाजन गरी आलोपालो प्रणालीमा कर्मचारी उपस्थित हुने व्यवस्था मिलाउन राष्ट्र बैंकले आग्रह गरेको छ ।
सरकारले देशको विभिन्न स्थानमा बन्दाबन्दी, निषेधाज्ञा, सार्वजनिक तथा निजी सवारीसाधनको आवागमनमा जोर–बिजोर प्रणालीलगायत विशेष परिस्थितिलाई दृष्टिगत गरी घरबाटै काम गर्ने वातावरण बनाउन पनि राष्ट्र बैंकले भनेको छ ।
प्रदेशमा सञ्चालित शाखाको हकमा सम्बन्धित प्रदेश, स्थानीय तह र स्थानीय प्रशासनको निर्णयबमोजिम गर्न पनि राष्ट्र बैंकले आग्रह गरेको छ ।
-कान्तिपुर दैनिक
FACEBOOK COMMENTS