काठमाडौँ — बैंक तथा वित्तीय संस्थाले यही असार ७ भित्रै कर भुक्तानी गर्ने भएका छन् । सरकारको ताकेतापछि बैंक तथा वित्तीय संस्थाले असार पहिलो सातामै चालु आर्थिक वर्षको दोस्रो त्रैमासको कर तिर्न लागेका हुन् । लकडाउनका कारण सरकारको राजस्व उठेको छैन । राजस्व नउठेपछि कर्मचारीलाई तलब खुवाउन पनि नसकिने अवस्था आउन थालेको सरकारले बताउँदै आएको छ ।
यही कारण अर्थ मन्त्रालयले बैंक तथा वित्तीय संस्था, बिमालगायत वित्तीय क्षेत्रका संस्थालाई तोकिएको समयअगावै कर तिरेर सहयोग गर्न आग्रह गरेको बुझिएको छ । सोही कारण वाणिज्य बैंकहरूले असार ७ भित्रै कर तिर्ने निर्णय गरेका छन् । यसका लागि वाणिज्य बैंकको छाता संगठन नेपाल बैंकर्स संघले औपचारिक निर्णय नै गरेको छ । ‘कसैको आग्रहमा होइन, एउटा सचेत नागरिकका रूपमा छिटो कर तिर्ने निर्णय गरेका हौं,’ संघका अध्यक्ष भुवन दाहालले भने । सरकारलाई अप्ठ्यारो परेकाले केही छिटो कर तिर्ने निर्णय भएको उनले दाबी गरे ।
समयमा कर नउठेपछि राज्यलाई समस्या परेको छ । यही कारण राजस्व विभागले गत जेठ २५ भित्र टीडीएस र ३० भित्र दोस्रो त्रैमासको कर तिर्न सूचना जारी गरेको थियो । लकडाउनमा नागरिकलाई घरमा थुनेर कर तिर्न भनेको भन्दै चौतर्फी विरोध भयो । त्यसपछि कर तिर्ने म्याद थपेर असार ७ सम्म टीडीएस र १५ सम्म दोस्रो त्रैमासको कर तिर्ने समय पुर्याइयो । यो विषय सर्वोच्च अदालतमा पुग्यो । अदालतले लकडाउन सकिएको एक महिना ९३० दिन० पछि मात्र कर असुल्न फैसला गरेको छ । औपचारिक रूपमा सरकारले ताकेता गरेर अहिले कर उठाउन पाउँदैन । यसकारण अर्थ मन्त्रालय र राजस्व विभागका कर्मचारीले वित्तीय क्षेत्रका कम्पनीलाई कर तिर्न आग्रह गरेको बताइएको छ ।
FACEBOOK COMMENTS