दाङ,कार्तिक ६- दाङको देवः विकास बैंक नारायपुर शाखाबाट भएको झन्डै १८ करोड रुपियाँ हिनामिनामा सञ्चालकहरूकै संलग्नता रहेको प्रहरी अनुसन्धानले देखाएको छ। प्रहरीको झन्डै दुई महिना लामो अनुसन्धानपछि ६ जना बैंक सञ्चालक, कर्मचारी र खातावालासहित ५६ जनाविरूद्ध उच्च अदालत तुलसीपुरमा मुद्दा दायर भएको छ।
सञ्चालक समितिका ६ जना, ७ कर्मचारी र ४३ खातावालाविरुद्ध मुद्दा दर्ता गरिएको छ । यसरी मुद्दा दायर गरिएकामा तत्कालीन वेस्टर्न बैंक सञ्चालक समितिका अध्यक्ष ओमभक्त बुढाथोकी, सञ्चालकहरू खड्ग बुढाथोकी, बेगमबहादुुर भण्डारी, शेषमणि गौतम, निर्मल देवकोटा र अर्जुन बुढाथोकी रहेका छन्।
वेस्टर्न बैंक मर्जर भएर देवः विकास बैंक भएको थियो।यस्तै मुुख्य दोषी तत्कालीन शाखा प्रबन्धक समीर बुढाथोकी, बैंकका कर्जा विभाग प्रमुुख अनिल न्यौपाने, सीईओ खिमबहादुुर डिसीलगायत छन्।
यस्तै अडिटर प्रेम भुर्तेल, कर्जा सहायक पोषण जैसी, अर्चना केसी, ऋण समिति सदस्य राजेन्द्र न्यौपाने र खातावाला वसन्त बस्नेतविरुद्ध मुुद्दा दर्ता भएको जिल्ला न्यायाधिवक्ता सुशील देवकोटाले जानकारी दिनुभयो।
जिल्ला प्रहरी कार्यालय दाङले दुई महिना अनुसन्धान गरेर प्राप्त प्रमाणलाई आधार मानी जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो। यही अनुसन्धानका आधारमा उच्च अदालतमा मुद्दा दर्ता गरिएको हो। उनीहरूविरुद्ध १८ करोड २ लाख ७२ हजार रुपियाँ बिगो रहेको न्यायाधिवक्ता देवकोटाले जानकारी दिनुुभयो।

देवकोटाले भन्नुुभयो– ‘सञ्चालक समितिको चरम लापरबाहीका कारण करोडौं रकम हिनामिना भएको देखिएको छ।’प्रहरी प्रतिवेदनअनुसार बैंकको करोडौं रकम हिनामिनामा सबैको संलग्नता रहेको देखिन्छ। रकम हिनामिनामा सञ्चालक समिति, कर्मचारी र खातावालाहरू मिलोमतो देखिएको प्रहरीको भनाइ छ।

प्रहरीको सूक्ष्म अनुुसन्धानले तत्कालीन बैंक सञ्चालक समितिका पदाधिकारीहरूले बैंकमाथि निगरानी तथा अनुुगमन गर्न नसक्नु, बैंकका सीईओ, कर्जा विभाग प्रमुुखको चरम लापरबाही र चलाखीपन तथा सेवाग्राहीको प्रलोभनका कारण कराडौं रकम हिनामिना भएको देखाएको छ। आजको नेपाल समाचारपत्रमा समाचार छ ।