काठमाडौं, मंसिर ९ – बैतडीको दशरथचन्द नगरपालिका-१० बुड्डामा मंगलबार दिउँसो जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
दिउँसो साढे १ बजेतिर ना १ ज २१९६ नम्बरको जीप सडकबाट एक सय मिटर तल खस्दा ५ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
दुर्घटनामा परि बैतडीको दशरथचन्द नगरपालिका-५ बस्कोटकी पार्वती चन्द , बस्कोटकै अर्की पार्वती चन्द , दशरथचन्द नगरपालिका-४ जर्गगाउँका भगिरथ पाण्डेय, दशरथचन्द नगरपालिका-२ देहिमाडौंका कृष्ण लावड र सुनर्या गाउँपालिका-४ की कलावती चन्दको मृत्यु भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए । मृतक र घाइतेहरु सबै भारतीय बजार झुलाघाटबाट पेन्सन बुझेर फर्कदै थिए ।
मृतक कृष्ण लावड ५८ वर्षका छन् भने अन्य सबै ७० वर्षमाथिका रहेका प्रहरी डीएसपी अधिकारीले बताए ।
घाइतेहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको उनले बताए । ११ जना सवार जिपमा रहेका २ जना यात्रु भने सकुशल छन् । जिप चालक गोपाल कार्की फरार रहेका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
FACEBOOK COMMENTS