काठमाडौं, कार्तिक २६ – भक्तपुरमा सोमबार १२८ कोरोना सङ्क्रमित थपिए। स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार आइतबार ६८ र शनिबार ११८ नयाँ सङ्क्रमित थपिएका थिए। दिनको १०० भन्दा बढी नयाँ कोरोना सङ्क्रमित थपिए पनि कोरोना सङ्क्रमितको उपचारका लागि खोलिएका भक्तपुरका आइसोलेसन केन्द्र भने रित्तिन थालेका छन्।
कोरोना सङ्क्रमितले होम आइसोलेसन रोज्ने क्रम बढेसँगै सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढे पनि आइसोलेसेन केन्द्र भने रित्तिन थालेका हुन्। भक्तपुरका विभिन्न आइसोलेसन केन्द्रमा ८७१ शय्या छन् तर मङ्गलबार दिउँसोसम्म ती केन्द्रमा जम्मा ५९ जना उपचाररत छन्।
भक्तपुर अस्पतालमा १५, भक्तपुर क्यान्सर अस्पतालमा छ, सैनिक आवासीय महाविद्यालयमा १५०, डा इवामुरा अस्पतालमा चार, सिद्धि स्मृति अस्पतालमा एक, जनस्वास्थ्य च्याम्हसिंहमा दुई, ब्रह्मायणी आइसोलेसन केन्द्रमा ७५, केएमसी अस्पताल दुवाकोटमा १५०, सैनिक अन्तर्राष्ट्रिय शिक्षालय खरिपाटीमा १३०, खानेपानी तालीम केन्द्र तेलकोटमा २३, विद्युत् प्राधिकरण तालीम केन्द्र खरिपाटीमा २०० शय्याको आइसोलेसन केन्द्र छ।
त्यसैगरी समिट अस्पतालमा १०, बिपी आँखा अस्पतालमा एक, आरोग्य अस्पतालमा चार, नागरिक सामुदायिक अस्पतालमा तीन, मध्यपुर अस्पतालमा १३, नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा नौ, कृषि विकास बैंकको तालीम केन्द्र बोडेमा ५० र वीर दल गण सूर्यविनायकमा ७५ शय्याको आइसोलेसन केन्द्र रहेको छ।