काठमाडौँ, श्रावण १६ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भदौबाट विद्यालय खोल्नका निम्ति सरोकार निकायसँग छलफल थालेको छ । कोभिड–१९ फैलिन नदिन भएको लकडाउनले वैशाखबाट सुरु हुनुपर्ने शैक्षिक सत्रको हालसम्म सुरु भएको छैन । सरकारले विद्यालयमा रहेका क्वारेन्टाइन र आइसोलेसन सेन्टर हटाउने, भदौ १ गतेबाट विद्यालय खोल्ने लगायत निर्णय गरेपछि मन्त्रालय गृहकार्य थालेको हो ।
मन्त्रालयले गठन गरेको शैक्षिक सत्र २०७७ क्यालेन्डर व्यवस्थापन कार्यदलले शुक्रबार शिक्षक महासंघ, प्याब्सन, नेसनल प्याब्सन, अभिभावक महासंघ, राष्ट्रिय परीक्षा बोर्ड, पाठ्यक्रम विकास केन्द्रका प्रतिनिधिलाई निमन्त्रणा गरी परामर्श लिएको हो । विद्यालय खोल्ने, विद्यार्थी भर्ना गर्ने, पठनपाठन गर्नेबारेमा प्रारम्भिक छलफल भएको जनाइएको छ ।
पहिलो बैठकमा सामान्य छलफलमात्र भएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जनाएका छन् । ‘मन्त्रीपरिषदले भदौ १ गतेबाट विद्यालय खोल्ने निर्णय गरेपछि शैक्षिक क्यालेन्डरबारे सरोकार पक्षलाई बोलाएर प्रारम्भिक छलफल गरेका छौं,’ कार्यदलका संयोजकसमेत रहेका शर्माले भने, ‘छलफल सुरु गरेका छौं । उहाँहरुले सांगठनिक छलफल गर्नु हुनेछ ।’
‘भदौ १ गतेबाट शैक्षिक सत्र आरम्भ गरी भर्ना लिने र १५ गतेबाट पठनपाठन सुरु गर्न उपयुक्त हुने सुझाव दिएका छौं,’ प्याब्सनका सहअध्यक्ष डिके ढुंगानाले भने, ‘विद्यार्थी पाठ्यभार जम्मा १ सय ९२ दिन अर्थात् १ हजार २४ घन्टा क्रेडिट आवर हो र ७० प्रतिशत हाजिर हुनुपर्छ ।’ यस निम्ति दसैंमा ८ दिन र तिहारमा २ दिन र अन्य चाडवाडको बिदा कटौती गर्नुपर्ने सुझाव पेस गरेको उनले बताए । शैक्षिक सत्र आगामी २०७८ वैशाख १३ गते सक्ने प्रस्ताव गरेको उनले जनाए । अर्को नयाँ सत्र वैशाख २२ गतेबाट सुरु गर्न उपयुक्त हुनसक्ने सुझाव दिइएको जनाइएको छ ।
FACEBOOK COMMENTS