काठमाडौं, माघ ८ -नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले भन्सारमा बस्ने कर्मचारीहरुको कार्यशैली र व्यवहार परिवर्तन गर्न जरुरी रहेको बताएकी छिन् ।
६८ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष राणाले भन्सारमा रहेका कर्मचारीको मानसिकताले वस्तुको मूल्याङ्कन तथा वर्गिकरणमा समस्या हुने गरेको बताइन् ।अध्यक्ष राणाले आर्थिक विकासका लागि सरकारले नीतिगत सुधारहरु गरे पनि कर्मचारीहरुको कार्यशैली र व्यवहारमा परिवर्तन जरुरी रहेको बताइन् ।
कार्यक्रममा राजश्वसचिव शिशिरकुमार ढुङ्गानाले व्यवसायीहरुलाई अन्य ढंगबाट सहुलियत र सुविधा दिन सरकार तयार रहेको भएता पनि मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता दिन नसकिने बताए । राजश्वसचिव ढुङ्गानाले व्यवसायीहरुले आफुले आयात गरेको वस्तुको वास्तविक मूल्य नदिएकाले समस्या आएको बताए । उनले एउटै वस्तु एउटै ब्राण्ड र एउटै गुणस्तरको वस्तुको फरक फरक मूल्यमा ल्याएको देखाउँदा मान्य नहुने बताए ।उनले व्यवसायीहरु इमान्दार भएर मूल्य खुलाएमा कुनै समस्या नहुने समेत बताए ।
त्यसै गरी महासंघका बरिष्ठ उपाध्यक्ष गोल्छाले व्यवसायीलाई सन्दर्भ मूल्य देखाएर तर्साउने काम गर्न नहुने बताए । उनले नेपालको निजी क्षेत्र ईमान्दार भए पनि सरकारले अविश्वास गर्ने र तर्साउने काम गर्ने गरेको बताए । महासंघको राजश्व समितिका उपसभापति कृष्णप्रसाद दुलाल, महासङ्घका उद्योग समितिका सभापति अन्जन श्रेष्ठलगायतले सरकारले धेरै किसिमको शर्त र प्रावधानहरु ल्याएर व्यवसायीहरुलाई हतोत्साहित बनाउने काम गरेको बताए ।
FACEBOOK COMMENTS