काठमाडौं, माघ १३ – भन्सार सेवा तथा पूर्वाधारमा सुधार र आधुनिकिकरणको काम तिब्र पारिएको भन्दै भन्सार विभागले आयात निर्यात व्यापारमा थप सहजीकरणका लागि तयार रहेको बताएको छ ।
अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा नेपाल उद्योग परिसंघमा आयोजित अन्तरक्रियामा भन्सार विभागका महानिर्देशक सुमन दाहालले एकद्वार प्रणाली कार्यान्वयनमा आउन थालेको, प्रविधिमा आधारित मुल्यांकन तथा अनुगमन प्रणाली अपनाइएको र छिट्टै डिजिटल भुक्तानीका लागि काम अघि बढेको जानकारी गराए ।
महानिर्देशक दाहालले विभागले अघि बढाएका कामले समग्र व्यापार तथा राजस्व प्रणालीमै सुधार देखिएको पनि उल्लेख गरे । भन्सार एजेण्टको संख्या थप्न आवश्यक तयारी भइसकेको र यसलाई छिट्टै पूर्णत दिइने पनि महानिर्देशक दाहालले जानकारी दिए । भन्सार पूर्वाधार तथा नाकाहरुमा बन्दै गरेका एकीकृत चेक पोष्टको सुधारमा सहकार्य तथा समन्वय आवश्यक रहेको भन्दै महानिर्देशक दाहालले सहकार्यका लागि परिसंघलाई आग्रह समेत गरे ।
अन्तरक्रियाको सुरुवात गर्दै परिसंघका कार्यवाहक अध्यक्ष विष्णुकुमार अग्रवालले भन्सार विभागले व्यापार सहजीकरणका लागि पुर्वाधार तथा सेवामा भइरहेको सुधारको स्वागत गर्दै तत्काल ध्यान दिनु पर्ने केही मूलभूत विषयहरुमा ध्यानाकर्षण गराए । करिब २५ वर्ष यतादेखि भन्सार एजेण्ट थप नभएकाले इजाजतपत्र तत्काल खुला गरि एजेण्टको संख्या बढाउन पनि का.वा अध्यक्ष अग्रवालले आग्रह गरे । यस्तै डिजिटल भन्सार प्रशासनको माग दोहोर्याउँदै व्यवहारमा नै कागजातविहिन जाँचपास र डिजिटल भुक्तानीको सुविधा आवश्यक भइसकेको र भन्सार प्रशासनले विश्वसनीय उद्योगी व्यवसायीहरुलाई झन्झट बिनाको जाँचपासको परिपाटी अवलम्बन पनि अग्रवालले आग्रह गरे ।
FACEBOOK COMMENTS