काठमाडौं, वैशाख २२ – स्वर्गीय भरतमोहन अधिकारी स्मृति फाउण्डेशनले ज्येष्ठ नागरिकलाई आधारभूत शिक्षा दिने घोषणा गरेको छ । पूर्वउपप्रधान तथा अर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीको ८६औं जन्मजयन्तीको अवसरमा फाउन्डेशनले सो घोषणा गरेको हो ।
भरतमोहन अधिकारी स्मृति फाउण्डेसनद्वारा आज बुधबार आयोजित वेमिनार कार्यक्रमकाबीच स्व. नेता अधिकारीकी सुपुत्री एवम् भरतमोहन अधिकारी स्मृति फाउण्डेसनकी संस्थापक लिमा अधिकारीले उक्त घोषणा गरेकी हुन् ।
उक्त साक्षरता कार्यक्रम घोषणा गर्दै अधिकारीले ३० जना ज्येष्ठ नागरिकलाई समेटेर १ वर्षसम्म सार्वजनिक विदाको दिनमाबाहेक हरेक दिन २ घण्टा कक्षा सञ्चालन गरिने जानकारी दिइन । त्यसका लागि फाउण्डेशनले स्थानीय एक जना संयोजक र एक जना प्रमुख शिक्षक एवम् एक जना सहायक शिक्षकको व्यवस्था र १२ महिनासम्मका लागि स्टेशनरी, झोला, मोबाइल, पोशाक, खाजा, बस सेवा आदी निःशुल्क रुपमा उपलब्ध गराउने जानकारी अधिकारीले दिएकी छिन् ।
कार्यक्रम शुरुको चरणमा बुङमतीबाट शुरु गरि देशका ७ वटै प्रदेशमा पुर्याइने उनको भनाइ छ ।
सो अवसरमा शिक्षाविद् गोविन्द गजुरेलले ज्येष्ठ नागरिकसम्बन्धी ऐन अड्किदा र बजेट कम हुँदै जाँदा भरतमोहन अधिकारीको अभाव खड्किएको बताउँदै साक्षरता कार्यक्रमले युगअनुरुप जीवनयापन गर्न ज्येष्ठ नागरिकलाई सघाउ पुग्ने उल्लेख गरे ।
साथै, उनले ज्येष्ठ नागरिकलाई चिह्न एवम् संकेत आदीको माध्यमबाट पानी तताउने, खाना बनाउने, मोबाइल चलाउने, सामान्य हरहिसाब गर्ने, इन्टरनेट चलाउन सक्ने बनाउने जस्ता जीवनोपयोगी शीप र प्रविधिमैत्री ज्ञान उपलब्ध गराउने उद्देश्य रहेको प्रष्ट पारिएको छ ।
कार्यक्रममा शिक्षाविद् गोविन्द गजुरेलले भरतमोहन अधिकारीको नाम आउने वित्तिकै सँगसँगै ज्येष्ठ नागरिकको विषय आउने मानक स्थापित भएको तर्क पेश गर्दै स्वर्गीय अधिकारीले बजेटमार्फत मात्र नभई अन्य सामाजिक गतिविधि, कार्यक्रम र राजनीतिक एजेण्डामा पनि ज्येष्ठ नागरिकको अधिकारको सवाललाई स्थान दिलाउन र स्थापित गराउन नेतृत्वदायी भूमिका निर्वाह गरेको उल्लेख गरे ।
कार्यक्रममा बुङमतीका स्थानीय अभियन्ता एवम् शिक्षाविद् जनकलाल तुलाधरले बुङमतीबाट अभियान शुरु हुन लागेकोमा खुशी व्यक्त गर्दै प्रेरणादायी व्यक्तित्व स्व. भरतमोहन अधिकारीको स्मृतिमा स्थापित फाउण्डेशनले ज्येष्ठ नागरिकको क्षेत्रमा पुर्याउँदै आएको भूमिकाको सरहाना गरे ।
कार्यक्रममा फाउण्डेशनकी अध्यक्ष सबिता अधिकारीले स्व. अधिकारीले जीवनपर्यन्त ज्येष्ठ नागरिकको हितलाई केन्द्रमा राखेर अग्रमोर्चामा उभिदै आएको स्मरण गर्दै २०५१ सालमा अर्थमन्त्रीको हैसियतले आफ्नो अन्तरमनको चाहअनुरुप बजेटमार्फत वृद्ध भत्ताको सुत्रपात गरेको बताइन् । साथै उनले घर–घरबाट ज्येष्ठ नागरिकको सम्मान हुन सके मात्रै स्व. भरतमोहन अधिकारीप्रति उच्च र सच्चा सम्मान भएको महशुश आफूले गर्ने विचार व्यक्त गरिन् ।
कार्यक्रममा संस्थाका सल्लाहकार कृष्ण आचार्य, केशव आचार्य, उर्मिला श्रेष्ठ, सबित्रा भुसाल, कोषाध्यक्ष सुदीप आचार्य, नेताहरु शान्ति अधिकारी, गरिमा शाह, रमेश विष्ट, खम्ब खत्रीलगायतको सहभागिता थियो ।
FACEBOOK COMMENTS