असार १३- भारतबाट फर्किएर होटलको क्वारेन्टाइनमा बसेका वीरगन्जका २ जनामा शनिबार कोरोना संक्रमण पुष्टि भएको छ । वीरगन्जको लिंकरोड स्थित कुमु प्यालेश होटलको क्वारेन्टाइनमा बसेका वीरगन्ज महानगरपालिका वडा नम्बर ५ का ३२ वर्षीय पुरुष र महिलाको पिसिआर रिपोर्ट पोजिटिभ आएको हो । दुवै जना श्रीमान् श्रीमती हुन् ।
भारतको दिल्लीबाट फर्किएर कुमु प्यालेश होटलको क्वारेन्टाइनमा बसेका एकै परिवारका श्रीमान श्रीमती, उनीहरुका आमा बुवा र ३ वर्षीय छोरा गरि ५ जनाको असार १० गते स्वाब संकलन गरी प्रयोगशालामा पठाइएको थियो । तीमध्ये शनिबार श्रीमान् र श्रीमतीको पिसिआर रिपोर्ट पोजिटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका निरीक्षक जयमोद ठाकुरले जानकारी दिए ।
कोरोना संक्रमण पुष्टि भएका दुवै संक्रमितलाई उपचारका लागि गण्डक स्थित नारायणी अस्थायी कोबिड अस्पतालमा पठाइएको ठाकुरले जानकारी दिए ।
शनिबार २ जना थपिएसँगै पर्सा जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ५८ पुगेको छ । तीमध्ये ५ जना भारतीय नागरिक, ९ जना स्वास्थ्यकर्मी, एक जना एम्बुलेन्स चालक र २ जना पत्रकार रहेको ठाकुरले जानकारी दिए ।
यसअघि वीरगन्जकै कन्ट्री इन होटलको क्वारेन्टाइनमा बसेका २ जनामा पनि असार २ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
FACEBOOK COMMENTS