काठमाडौं,चैत १ – भारतमा कोरोना भाइरसको संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । राजधानी नयाँ दिल्लीको पश्चिमी क्षेत्रमा एक ६९ वर्षीया महिलाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या २ पुगेको हो ।
भारतीय स्वास्थ्य मन्त्रालय र समाचार एजेन्सी पिटिआईलाई उदृत गर्दै बीबीसीले भनेको छ, ‘मृत्यु हुने महिला ६९ वर्षकी थिइन् र उनलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो ।’ मृतक महिलाका छोरालाई समेत कोरोना भाइरसको संक्रमण भएको बताइएको छ । कोरानाबाट मृत्यु हुने महिला यसअघि मधुमेह र उक्त रक्तचापको बिरामी भएको समेत बताइएको छ ।
गएको फेब्रुअरीमा स्विजरल्याण्डबाट इटाली हुँदै भारत पुगेका ती युवामा कोरोना पुष्टि भएको केही दिनमा नै आमामा पनि कोरोना भएको पाइएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । अहिले ती युवा र ज्यान गुमाएकी महिलाको सम्पर्कमा रहेका व्यक्तिलाई निगरानीमा राखिएको छ ।
यसअघि गएको मंगलबार कर्नाटक, कालाबुर्गीका ७६ वर्षका पुरुषको ज्यान गएको थियो । उनी भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउने पहिलो व्यक्ति थिए । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ८२ जना पुगेको छ ।
FACEBOOK COMMENTS