ह्याकरले नेपालबाट ७ वटा बैंकका विभिन्न कार्डहरू प्रयोग गरी १७ वटा बैंकका विभिन्न स्थानका ६८ वटा एटीएमबाट रकम चोरी भएको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकको अध्ययन प्रतिवेदनअनुसार सेन्चुरी, नेपाल बैंक, इन्भेस्टमेन्ट, नबिल, लक्ष्मी, स्ट्यान्डर्ड चार्टर्ड, हिमालयन, सानिमा, एनसीसी, कृषि विकास, मेगा, नेपाल एसबीआई, एनएमबी र कुमारी बैंक गरी १४ वाणिज्य बैंक र मुक्तिनाथ, गरिमा र महालक्ष्मी विकास बैंक गरी १७ बैंक तथा विकास बैंकका एटीएम प्रयोग भएको प्रतिवेदनको निष्कर्ष छ। ‘सो अवधिमा ती एटीएममा ७ सय ३ पटक एटीएम घोटिएको देखिएको छ,’ प्रतिवेदनमा भनिएको छ।
ती बैंकको एटीएमबाट रकम निकाल्न ह्याकरले ७ वटा बैंकको एटीएम कार्ड प्रयोग गरेको भेटिएको छ। ती बैंकहरूमा सनराइज, माछापुच्छ्रे, ग्लोबल आईएमई, जनता, सिटिजन्स, एनआईसी एसिया र प्रभु बैंक छन्।
भारतमा २४ बैंकका १३२ एटीएमबाट चोरी
ह्याकरले नेपालमा नेप्सको सिस्टम ह्याक गरिरहेको समयमा भारतमा २४ बैंकका १ सय ३२ एटीएम पैसा निकालेको देखिएको छ। उक्त अवधिमा ती बैंकहरूको एटीएममा नेपाली बैंकसँग सम्बधित कारोबार भएको प्रतिवेदनले देखाएको छ।
उक्त अवधिमा ती एटीएमहरूमा १ हजार ७ पटक कार्ड घोटिएको भेटिएको छ। ‘ती एटीएममा सनराइज, माछापुच्छ्रे, ग्लोबल आईएमई, जनता, एनआईसी एसिया र प्रभु बैंकका एटीएम प्रयोग भएको भेटिएको छ,’ प्रतिवेदनमा उल्लेख छ।
-कान्तिपुर
FACEBOOK COMMENTS