काठमाडौ, ९ मंसिर– नेपाल र भारतबीच औपचारिक वार्ता कूटनीतिक तहबाटै हुने भएको छ । विदेश सचिवस्तरीय वार्ताबाटै दुई देशको सम्बन्ध सुधारमा अगाडि बढ्ने भारतीय विदेश मन्त्रालयले संकेत दिएको छ । सोमबार नेपालको परराष्ट्र मन्त्रालय र भारतीय विदेश मन्त्रालयले एकै पटक विज्ञप्ति निकालेर सचिवस्तरीय बैठकको विषय सार्वजनिक गर्दै उच्चस्तरीय भ्रमणको निरन्तरता भनेका छन् ।
विदेश सचिवस्तरीय वार्तासँगै सीमा विवादका कारण बिग्रेको नेपाल र भारतको सम्बन्ध सुधारका लागि कूटनीतिक च्यानलबाट प्रक्रिया अगाडि बढ्ने भएको हो । नेपालका परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा भारतीय विदेश सचिव हर्षवद्र्धन शृंगला ११ मंसिरमा नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
आगामी बिहीबार नेपाल र भारतका परराष्ट्र सचिव नेतृत्वले सम्बन्ध सुधारका विषयमा मन्थन गर्नेछन् । शृंगला नेपालमा सचिवस्तरीय वार्ता सकेर १२ मंसिरमा भारत फर्कनेछन् ।
भ्रमणको पहिलो दिनमा दुई देशका विदेश सचिवहरूले द्विपक्षीय बैठकमा भाग लिनेछन् र नेपाल र भारतबीच विभिन्न विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विदेश सचिवको भ्रमणलाई दुई छिमेकी मुलुकको उच्चस्तरको भ्रमणको निरन्तरताका रूपमा लिइएको छ ।
त्यस्तै, भारतीय विदेश मन्त्रालयले पनि एक विज्ञप्ति निकालेर भ्रमणको विषयमा जानकारी दिएको छ । ‘भारतको नेपालसँग पौराणिक र ऐतिहासिक सम्बन्ध रहँदै आएको छ । भारतको सहायतामा अन्तरदेशीय पूर्वाधारको निर्माण भएर दुईपक्षीय सहकार्य अझ बलियो भएको छ,’ भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘दुई पक्षीय सम्बन्धलाई अझ मजबुत बनाउन यो भ्रमण एक अवसर हुनेछ ।’ – राजधानी दैनिक
FACEBOOK COMMENTS