काठमाडौँ, आश्विन २२ – भारतीय उत्पादन सुजुकी गाडी अब जापानबाट नेपाल आउने भएको छ । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले सुजुकी मोटर कर्पोरेसन (एसएमसी) जापानले उत्पादन गरेका सुजुकी कारहरु नेपाली बजारमा ल्याउने भएको हो ।
सुजुकी मोटर कर्पोरेसन(एसएमसी) जापनको उत्पादन हाई क्लासका प्रिमियम कारहरु आयात गर्ने गरी कम्पनीसँग हालैमात्र सम्झौता भएको सीजी मोटोकर्पका बजार प्रवन्धक करुण शाक्यले रातोपाटीसँग बताए । ‘सुजुकीले नेपाली ग्राहकका लागि सबैभन्दा ठूलो रेन्जको कार उपलब्ध गराउँदै आएको छ । अब हामी सिधै एसएमसी जापानबाट प्रिमियम रेन्जका उत्पादन भित्र्याउलै छौं । यसले नेपाली उपभोक्ताहरुको मन जित्नेमा हामी विश्वस्त छौं’ बजार प्रवन्धक शाक्यले भने ।
योसँगै अब नेपाली उपभोक्ताहरुले सुजुकी एसएमसी जापानको उत्पादनको मजा लिन पाउने भएका छन् । जापानी उत्पादनका कारहरु आयात गर्ने तयारी गरेको कम्पनीले पहिलो चरणमा निकै प्रतिक्षित मानिएको सुजुकी भिटारा नेपाल ल्याउने तयारी गरेको छ । सो कार २०२१ को मार्चसम्ममा नेपाल ल्याइसकिने र अहिले प्रि बुकिङ्ग समेत खुल्ला भइसकेको शाक्यले जानकारी दिए ।
सुजुकी भिटारा युरोपेली बजारमा सबैभन्दा बढी बिक्री हुने मध्येको एक प्रिमियम एसयुभी कार हो । यसमा फोर व्हिल सिस्टम, १.६ लिटरको शक्तिशाली इन्जिन र अन्य अत्याधुनिक फिचर रहेको छ । जसले यो सेग्मेन्टको ‘ड्राइभिङ एक्सपिरियन्स’ लाई नयाँ उचाइमा पुर्याउने कम्पनीको विश्वास रहेको छ । नेपाली बजारमा भीटाराको सुरुवाती मूल्य ७९ लाख ९९ हजार रुपैयाँ पर्ने कम्पनीको अनुमान छ । हालसम्स कम्पनीले मारुती सुजुकी इन्डियाले निर्माण गरेका सुजुकी कारहरु मात्र नेपाल भित्र्याउँदै आएको छ ।
FACEBOOK COMMENTS