काठमाडौं, वैशाख २२ – कोरोना भाइरसको प्रभाव दिनप्रतिदित बढ्दै जाँदा सरकारले यसविरुद्धको खोप आयातलाई पनि तीव्रता दिन थालेको छ । हिजो मंगलबार मात्रै कोभिड–१९ का गम्भीर बिरामीलाई प्रयोग गरिने ३ हजार भाइल रेम्डेसिभिर खोप ल्याएको सरकारले आज बुधबार ४ हजार भाइल रेम्डेसिभिर खोप नेपाल ल्याईपुर्याएको छ ।
यद्यपि सरकारले भने भारतमा उत्पादन गरिएको ‘कोभिसिल्ड’ लाई नै मुख्य प्राथमिकतामा राखेर आयात गर्ने जनाएको छ । आज बुधबार उपप्रधानमन्त्री ईश्वर पोखरेलको सञ्चार सचिवालयबाट प्राप्त प्रेस विज्ञप्तिअनुसार सरकारले भारतीय खोपलाई उच्च प्राथमिकतामा राखेको प्रष्ट पारिएको छ ।
कोरोनाको खोप ल्याउने विषयमा उपप्रधानमन्त्री पोखरेलले सरोकारवालाहरू सम्मिलित बैठक आयोजना गरेबोबारे जानकारी दिन प्रषित उक्त विज्ञप्तिमा भनिएको छ, ‘सरकारले भारतमा निर्मित खोपलाई प्राथमिकतामा राखेको छ भने अन्य देशमा निर्मित खोपलाई पनि विकल्पमा राखेको छ ।’ सरकारले खोप ल्याउनका लागि यसअघि नै परराष्ट्र मन्त्रालयलाई समन्वयको जिम्मेवारी दिइसकेको विज्ञप्तिमा उल्लेख छ ।
उपप्रधानमन्त्री पोखरेलले बुधबार कोरोनाको खोप यथाशीघ्र नेपाल ल्याउने विषयमा परामर्शका लागि एक बैठकको आयोजना गरेका थिए । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले आयोजना गरेको उक्त बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्यमन्त्री हृदयश त्रिपाठी, मुख्यसचिव डा. शंकरदास मैनालीलगायत उपस्थित रहेको बताइएको छ ।
बैठकमा तत्कालै नेपालमा खोप ल्याउने र त्यसका लागि खरिद प्रक्रिया यथाशीघ्र टुंगोमा पुर्याउने विषयमा छलफल भएको थियो । सरकारले पहिलो चरणमा २१ लाख र दोस्रो चरणमा ३ लाख ७० हजार डोज कोरोनाविरुद्वको खोप लगाइसकेको छ ।
FACEBOOK COMMENTS