काठमाण्डौँ — भारतीय मालवाहक ट्रकको निर्वाध नेपाल प्रवेशले नेपाली ट्रक व्यवसायी संकटमा पर्न थालेका छन् ।
भारत तथा तेस्रो मुलुकबाट नेपाल भित्रिने सबै प्रकारका वस्तु भारतीय ट्रकले नै नेपालभर ढुवानी गर्न थालेपछि नेपाली ट्रक कामविहीन हुँदा व्यवसाय नै संकटमा परेको ट्रक व्यवसायीको गुनासो छ ।
भारतीय मालवाहक गाडीले भन्सार कार्यालयमा झार्न नमिल्ने, २४ घण्टाभित्र बिग्रने तथा फलफूल मात्र नेपालमा लिएर आउन पाउने भए पनि दाल, चामल, कोइला जस्ता सामग्री पनि लिएर आउन थालेपछि यस्तो समस्या सुरु भएको ट्रक व्यवसायी बताउँछन् ।
भारतीय ट्रकले नेपालमा सामान ल्याउँदा नेपाली भन्सारदेखि १७ किलोमिटर सम्म मात्र ढु्वानी गर्न पाउने पारवहन सम्झौतामा उल्लेख भए पनि उक्त नियमको उलंघन गर्दै देशभर ढुवानी गर्दा नेपाली व्यवसायी संकटमा परेको पूर्व नेपाल ट्रक व्यवासायी संघका उपाध्यक्ष तेजप्रसाद कडरीयाले बताए ।
यस्तैमा पूर्वका ट्रक व्यवसायीले आफ्नो गुनासो अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ प्रदेश १ सुनसरीलाई राखेपछि नेपाल कम्युनिस्ट क्रान्तिकारी माओवादी निकट सो ट्रेड युनियन महासंघले भारतीय गाडी रोक्न सरकार र भारतीय व्यवसायीलाई ७२ घण्टे अल्टिमेटम समेत दिएको छ ।

— अन्नपुर्ण
