काठमाडौं, पुस ५ – राष्ट्रिय गौरवको आयोजना मध्येको कालीगण्डकी करिडोर नेपालको मध्यभागबाट भारत र चीन जोड्ने सबैभन्दा छोटो मार्ग हो ।
१९ वर्षदेखिको सपना नेपाली सेनाले करिडोर निर्माणको जिम्मा लिएसँगै साकार हुने भएको छ । त्रिवेणीधामदेखि चीनको सिमाना कोरला नाकासम्म करिडोरको ४१७ किलोमिटरमध्ये लगभग सबै स्थानमा नेपाली सेनाले ट्रयाक खुला गरिसकेको छ । अधिकांश स्थानमा निर्माण सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण पनि भइरहेको छ ।
कालिगण्डकी करिडोरलाई सरोकारवाला निकायले त्रिदेशीय सीधा सम्पर्क स्थापित गर्ने आर्थिक मार्गका रूपमा लिइरहेका छन् भने कालिगण्डकी करिडोर सरोकार समितिले यसलाई धर्मावलम्बी मार्गका रूपमा लिँदै आएका छन् ।
चीन र भारतलाई सीधा रूपमा जोड्ने करिडोर निर्माण सम्पन्न भएपछि भारतका लाखौँ तीर्थयात्रीहरु नेपाल आएर रुरु क्षेत्र हुँदै मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ पुग्नेछन् ।
यता, चीनका बौद्धमार्गीहरु भगवान् गौतम बुद्धको पवित्र जन्मभूमि लुम्बिनीमा आउने भएकाले यसलाई दुई धर्मावलम्बीहरुको एउटै मार्गका रूपमा लिँदै आएको कालिगण्डकी सरोकार समतिका संयोजक तथा सामाजिक अभियानकर्मी टीकाराम ढकालले बताए ।
“हामीले दुई देश जोड्ने सीधा मार्गको १९ वर्ष अगाडि गुल्मीबाट कल्पना गरेका थियौं”, ढकालले भने, “सेनाको सक्रियतासँगै करिडोर निर्माणको अन्तिम चरणमा पुगेका छौँ ।”
ढकालका अनुसार करिडोरले पूर्णता पाएसँगै भारतका लाखौं हिन्दू धर्मावलम्बीहरु मुस्ताङको मुक्तिनाथ पुग्नेछन् भने चीनका लाखौँ बौद्ध धर्मावलम्बीहरु लुम्बिनी आउनेछन् ।
दुई धर्मावलम्बीहरुलाई एउटै मार्गको प्रयोग गर्ने सबैभन्दा छोटो मार्ग कालिगण्डकी करिडोर बाहेक अन्य सडक नभएको बाग्लुङका सांसद डा। सूर्य पाठकले बताए ।
उनका अनुसार दुई शक्तिशाली देशका बीचमा एक सशक्त आर्थिक मार्ग त बन्ने नै छ भने धार्मिक पर्यटन र व्यापारिक हिसाबले महत्वपूर्ण कोशेढुंगा करिडोर बन्नेछ ।
वि.सं. २०५७ पुस १ गते गुल्मीमा शिलान्यास भएको उक्त सडक १९ वर्षपछि हस्तान्तरण चरणमा पुगेको छ ।पटकपटक कडा चट्टान देखेर गुल्मी र बाग्लुङमा काम गर्न नसकेर निर्माण कम्पनी फर्केको अवस्थामा वि.सं. २०७० देखि सरकारले कालीगण्डकी करिडोरको ८० किलोमिटर खण्ड नेपाली सेनालाई जिम्मा दिएको थियो । नेपाली सेनाले जिम्मा पाएको ६ वर्षमै करिडोरले मूर्तरूप लिन थालेको छ ।
सुरुमा ८ मिटरको ट्रयाक खुला गरेको सेनाले १० मिटर चौडा पार्ने कामलाई तीव्रता दिएको छ । निर्धारित दूरीको फराकिलो निर्माणपछि धमाधम सडक विभागलाई हस्तान्तरण गरिएको छ । करिडोरको बाग्लुङ र गुल्मी खण्डको ८० किलोमिटरमध्ये ५ वटा खोलामा बेलिब्रिज निर्माण गरिसकिएको छ ।
८५ किलोमिटर सडक बेनीदेखि मुस्ताङको कागबेनीसम्मको सडकको ट्रयाक नेपाली सेनाले खुला गरी वि.सं. २०६८ मा उक्त सडकखण्ड सडक विभागलाई हस्तान्तरण गरिसकेको छ भने कागबेनीदेखि कोरलासम्म अहिले धमाधम काम भइरहेको छ ।
गुल्मीदेखि बाग्लुङको मालढुंगा सडकको ट्रयाक खोल्न नेपाली सेनाको कार्यदलले २०७० साल वैशाखमा जिम्मा लिएर अहिले कामको अन्तिम चरणमा पुगेको नेपाली सेनाका निर्माण कार्यदल प्रमुख रेश्मीराज भट्टाईले जानकारी दिए ।
भूकम्प, नाकाबन्दी लगायतका कारणले काममा समस्या भए पनि २०७६ सालसम्ममा ट्रयाक खोल्ने लक्ष्य लिएकामा एक वर्षअघि नै काम सम्पन्न गरी १० मिटर चौडा पार्ने काम भइरहेको छ । अहिले करिडोरको गुल्मीमा ९ र बाग्लुङमा ३० किलोमिटर सडक निर्माण सम्पन्न गरी सरकारलाई बुझाइसकेको भट्टराईले जानकारी दिए ।
करिडोरले विकास र अवसरबाट पछाडि परेका दुर्गम गाउँहरु राम्रो बजार बनेका छन् । दुर्गम भनेर उपेक्षा गरिएका स्थानहरु सुगम बनेका छन् । करिडोरले कुनै एक निश्चित भूगोलको मात्र नभई सिंगो मुलुकको सम्भावनालाई उजागरसमेत गर्दै आएको स्थानीयले बताएका छन् । रासस
FACEBOOK COMMENTS