काठमाडाैं, मंसिर ३ – कोरोना भाइरसको सङ्क्रमणका कारण यस वर्ष राजधानीमा छठ पर्व भीडभाड नगरी विधिमात्र पूरा गरेर मनाइने भएको छ । जाडो लागि सकेकाले भीडभाड गर्दा कोरोना महामारी फैलन सक्ने हुँदा सामान्य पूजा मात्र गर्न लागिएको हो । राजधानीमा कमलपोखरी, गुह्येश्वरी, नागपोखरी, गहनापोखरीलगायत स्थानमा विशेष साजसज्जा गरी कात्तिक शुक्ल षष्ठीका दिन अस्ताउँदो र सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ पर्व मनाइन्छ । राजधानीका यी स्थानमा हजारौँ मानिस जम्मा भएर छठ मनाउने गरिन्थ्यो ।
कमलपोखरीमा विगत १० वर्ष अघिदेखि छठ पूजा समाजको नेतृत्व गर्दै आएका राजेन्द्र सिंह जिल्ला प्रशासन कार्यालयले २५ जना मात्र उपस्थित भएर पर्वको विधि पूरा गर्न स्वीकृति दिएको बताउछन । प्रशासनको स्वीकृतिअनुसार विगत नौ वर्षदेखि व्रत बस्दै आएकालाई मात्र मङ्सिर ५ गते बेलुकी कमलपोखरीमा प्रवेश गराएर अस्ताउँदो सूर्यलाई अघ्र्य दिने वातावरण बनाइने उनले जानकारी दिए ।
विगत वर्षमा जस्तो व्रतालुलाई राति पोखरी परिसरमा बस्नसमेत नदिइने कमलपोखरी छठ पूजा समाजले जनाएको छ । दश वर्षअघिदेखि कमलपोखरीमा विशेष साजसज्जाका साथ रङ्गीचङ्गी बनाएर छठ पर्व मनाइन्थ्यो । यस वर्ष भने सजावट र विशेष समारोहको कुनै तयार भएको छैन । कमलपोखरी र गुह्येश्वरीको छठ कार्यक्रममा राष्ट्राध्यक्षका रुपमा राष्ट्रपति समेत जाने परम्परा बनेको थियो ।
काठमाडौँ महानगरपालिका–१ का अध्यक्ष भरतलाल श्रेष्ठ पनि पर्वको भीडभाडमा दूरी कायम नहुने भएकाले विशेष समारोह नगरिने बताउछन । व्रतालुले घरमै बसेर सूर्यको आराधना गर्न सक्ने भएकाले भीडभाडमा नजान वडा कार्यालयले आह्वान गरेको छ ।
FACEBOOK COMMENTS