काठमाडाैं, फागुन २७ – मोरङको पथरीशनिश्चरे र झापाको दमकमा तीन दशक देखि बस्दै आएका भुटानी शरणार्थीहरूको व्यवस्थापनको तयारी अन्तिम चरणमा पुगेको छ । स्वदेश फर्कने, तेस्रो मुकुकमा पुनर्वास गर्ने वा नेपाल मै ब्यवस्थापन गर्न सकिने वा नसकिने विषयमा गृह मन्त्रालय र शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्चायोग (युएनएचसीआर) ले पथरी शनिश्चरे नगरपालिकासँग छलफल गरिरहेको छ ।
पथरीशनिश्चरे–१० र झापाको बेलडाँगीमा अझै ६ हजार ५ सय शरणार्थी अलपत्र अवस्थामा छन् । सन् २०१९ को जनवरी देखि भूटानी शरणार्थीलाई दिँदै आएको सम्पूर्ण सेवा सुविधा दातृ संस्थाले बन्द गरेयता शरणार्थीहरू कष्टपूर्ण जीवन बिताइरहेका छन् ।
शरणार्थीको स्वदेश फिर्तीको वातावरण बन्न नसकेको र तेस्रो मुलुक पुनर्वासको कार्यक्रम चलाइरहेको युएनएचसीआरले हात झिकिसकेको अवस्थामा शिविरमा बाँकी रहेका शरणार्थीका लागि सहयोग व्यवस्थापन गर्नेबारे गृह मन्त्रालयमार्फत छलफल गराइएको हो ।
दातृ निकायले राहत बन्द गरेको अवस्थामा कानूनको परिधिमा रही मानवीय हिसावले स्थानीय सरकारले सहयोगको वातावरण बनाउँदै लानु पर्ने गृह मन्त्रालयका सह–सचिव चक्रबहादुर बुढाले छलफलका क्रममा बताए । छलफलमा मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला, झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना, गृह मन्त्रालयका उपसचिव गोपालकुमार अधिकारी, झापाका प्रहरी प्रमुख सानुराम भट्टराई, यूएनएचसीआरका प्रोटेक्सन अफिसर क्रिस्टोफर डेग्नउलगायतले धारणा राखेका थिए ।
नगर प्रमुख दिलीपकुमार राई र उपप्रमुख यमुना विष्ट वास्तोलाले शरणार्थी समस्याको दिगो समाधान खोजिनु पर्ने बताउँदै आफुहरुले मानवीय हिसावले ३० औं वर्षदेखि नै सहयोग पुर्याउँदै आएको बताए । वस्ती र शरणार्थीबीच कृषि, पशुपालन सहितका व्यवसाय प्रवद्र्धनका योजना सञ्चालन अघि बढेको पनि उनले बताए । सो अवसरमा युएनएचसीआरले नगरका लागि फोहोर ओसार्ने एउटा ट्रक समेत हस्तान्तरण गरेको छ ।
FACEBOOK COMMENTS