काठमाडौं, माघ १२ – भूमि व्यवस्थापन तथा अभिलेख विभागले देशभरका मालपोत कार्यालयमा अनलाइन भुक्तानीको व्यवस्था मिलाउन निर्देशन दिएको छ । विभागले आर्थिक पारदर्शिता कायम गर्न भन्दै यस्तो निर्देशन दिएको हो ।
आर्थिक कार्यविधि नियमावली २०६४ मा मालपोत कार्यालयले उठाउने १० हजार रुपैयाँ भन्दा बढी रकमको राजस्व अनिवार्य रुपमा बैंक खातामा जम्मा गर्नुपर्ने व्यवस्था छ। तर अहिले पनि अधिकांश कार्यालयले नगदमै राजस्व लिने गरेका छन् ।
बैंक काउन्टर रहेका कार्यालयले दश हजार रुपैयाँ समेत बैंकमै जम्मा गरेर आर्थिक पारदर्शिता कायम गर्नुपर्ने देखिएको भन्दै विभागले नगदरहित भुक्तानीमा जोड दिएको हो ।
हाल देशभर १२७ वटा मालपोत कार्यालय सञ्चालनमा रहेकोका छन् । ती मध्ये ६२ वटा कार्यालयले मात्रै कार्यालय हाताभित्र बैंकको काउन्टर राखेर कारोबार गर्ने गरेको बताइएको छ ।
बाँकी रहेका कार्यालयले पनि बैंकसँग समन्वय गरी कार्यालय हाताभित्रै बैंकको काउन्टर राख्ने व्यवस्था गर्न विभागले निर्देशन दिएको हो ।
तर थोरै मात्र कारोबार हुने मालपोत कार्यालयमा बैंकलेनै शाखा खोल्न मानेका छैनन्। कार्यालय हाताभित्र शाखा खोल्न नमानेपनि सबै कार्यालयको नाममा बैंक खाता रहेकोले राजस्व रकम बैंकमै जम्मा गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको विभागले जनाएको छ ।
विभागले गत बुधबार आफू मातहतका सबै भूमिसुधार तथा मालपोत कार्यालयहरुलाई लेखेको पत्रमा दश हजार रुपैयाँभन्दा बढीको राजस्व रकम नियमानुसार अनिवार्य रुपमा बैंक जम्मा गर्ने गराउने र सकेसम्म नगदरहित कारोबारको प्रबन्ध मिलाउन भनेको छ ।
FACEBOOK COMMENTS