काठमाडौं, जेठ १४ – उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपालगञ्जस्थित भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको दुव्र्यवहारको घटनामा संलग्नलाई हदैसम्मको कारबाही गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री कार्यालयको जिम्मेवारी सम्हालिरहेका उपप्रधानमन्त्री पोखरेलले आज शुक्रबार बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई टेलिफोन गरी दोषीहरुमाथि हदैसम्मको कारबाही गर्न निर्देशन दिएका हुन् ।
महामारीको बेला जनताको जीवनरक्षामा खटिएका स्वास्थ्यकर्मीमाथि भएको आक्रमण अप्रिय, अमानवीय र गम्भीर अपराधिक कार्य भएको बताउँदै उपप्रधानमन्त्री पोखरेलले स्वास्थ्यकर्मीको सुरक्षामा विशेष ध्यान दिन समेत निर्देशन दिएका छन् । उनले यस घटनालाई सरकारले गम्भीर र संवेदनशील रुपमा लिएको पनि स्पष्ट पारेका छन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी गेलालले घटनामा संलग्न तीन जनालाई पक्राउ गरी ज्यान मार्ने उद्योग अन्तरगत कारबाही शुरू गरिसकेको जानकारी उपप्रधानमन्त्री पोखरेललाई गराएका छन् । घटनालगत्तै सुरक्षाकर्मीलाई पठाएर स्वास्थ्यकर्मीहरुलाई सुरक्षा दिएको र उपचार कार्य जारी राखिएको जानकारी दिँदै उनले घटनाको सम्बन्धमा जिल्ला प्रशासन कार्यालयले छानबिन समिति गठन गरेको बताए ।
१० दिनअघि भर्ना भएका बिरामीको बिहीबार राति निधन भएपछि बिरामीका आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए । घटनामा पाँच जना स्वास्थ्यकर्मी घाइते समेत भएका छन् ।
FACEBOOK COMMENTS