काठमाडौँ — नागरिक उड्डयन प्राधिकरणले आउने असारमा भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने दाबी गरेको छ ।
पर्यटन मन्त्रालयले बिहीबार सार्वजनिक गरेको ‘चालु वर्ष र ५ वर्षीय कार्यदिशा’ मा यस्तो दाबी गरिएको हो ।
कार्यदिशा सार्वजनिक कार्यक्रममा सहसचिव निता पोखरेलले विमानस्थलको निर्माणलाई तीव्रता दिई २०७६ असारमा निर्माण सकेर सञ्चालनमा ल्याइसक्ने बताइन् ।
उनले यस वर्ष मन्त्रालयले भारतसँग हालै भएको हवाई रुट सम्झौताअनुसार जनकपुर, विराटनगर, महेन्द्रनगर हवाई मार्गलाई भने ०७५ मसान्तसम्म दुईतर्फी बनाइने बताइन् ।
मन्त्रालयले पोखरामा निमार्णाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा अधिग्रहणको काम २०७६ वैशाखसम्म सकिने जनाएको छ ।
त्यहाँको निर्माण कार्य अबको तीन वर्षभित्र सम्पन्न गरिसक्ने भनिएको छ ।
यस्तै काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको कार्य ०७६ असारमा सक्ने भनिएको छ ।
विस्तारअन्तर्गत टर्मिनल भवन विस्तार, धावनमार्ग विस्तार, अन्तर्राष्ट्रिय एप्रोन निर्माण, समानान्तर टयाक्सी वे, धावनमार्गको पुनस्स्थापना कार्य आदि राखिएका छन् ।
यसैबीच पर्यटन मन्त्रालयको विज्ञ समूहले असम्भव मानेको काभ्रेको नागीडाँडामा वैकल्पिक विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गरी २०७६ वैशाखदेखि जग्गा अधिग्रहण थालिने भनिएको छ ।
— कान्तिपुर
FACEBOOK COMMENTS