काठमाडौं, भदौ १५ – बाग्लुङ नगरपालिका– १० भकुण्डेको उपल्लो गलुवाका एक युवाले छोरीको न्वारानका अवसरमा दिएको भोजले सिंगो समाज नै त्रसित बनेको छ । भोज आयोजना गर्ने नेपाली सेनामा कार्यरत २३ वर्षीय युवामा कोरोना पुष्टि भएपछि उनका छिमेकी र आफन्त त्रसित बनेका हुन् ।
स्थानीय प्रशासन, सरकारको आग्रहलाई बेवास्ता गर्दै आयोजना गरेको यो भोजले कोरोनालाई समुदायस्तरमै फैलाउन मद्दत गर्ने पो हो कि भनेर स्थानीय स्तरमा टिप्पणी हुन थालेको छ । छोरी जन्मिएको खुसीमा गत ३२ साउन लमजुङबाट बाग्लुङ छुट्टीमा आएका युवामा कोरोना पुष्टि भएको छ । उनीसँगै आएका बाग्लुङ नगरपालिका– १२ का एक युवामा सामान्य रुघाखोकी देखिएपछि परीक्षण गर्दा ५ भदौमा कोरोना पुष्टि भयो । सँगै आएर साथीमा कोरोना देखिएपछि गलुवाका युवा पनि कन्ट्याक्ट ट्रेसिङमा परेका थिए । उनमा पनि ११ भदौ कोरोना पुष्टि भएको हो ।
ती संक्रमित युवकको आफन्तसहित ६७ जनाकाे कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब संकलन गरिएको छ । युवकको परिवार र केही आफन्तमा कोरोनाको लक्षणसमेत देखिएको बाग्लुङ नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालले जानकारी दिए । उनीहरूमध्ये केहीलाई ज्वारो आउने तथा श्वासप्रश्वासमा कठिनाइ, घाँटी दुख्नेजस्ता समस्या देखिएको उनले बताए । युवकमा कोरोना पुष्टिपछि संक्रमितको प्रत्यक्ष सम्पर्कमा भएका न्वारानमा सहभागी पण्डित, पाहुना, आफन्त, छिमेकीलगायत ६७ जनाको स्वाब संकलन गरिएको बाग्लुङ नगरपालिकाका सिनियर अहेब (अधिकृत) डिल्लीप्रसाद आचार्यले जानकारी दिए ।
बाग्लुङ नगर क्षेत्रमा समुदायमा कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले ३ भदौदेखि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञामा अत्यावश्यकबाहेकका सबै क्रियाकलापलाई बन्देज गरिएको छ ।
बाग्लुङ नगरपालिकाभित्र मात्रै ४२ जना संक्रमित छन् । जसमध्ये २० जना आइसोलेसनमा छन् । बाग्लुङ बजारमा कन्ट्याक्ट ट्रेसिङमा एक महिला व्यवसायीबाट एकैपरिवारका ६ जनासहित नौजनामा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । आइतबारसम्म जिल्लामा कोरोना संक्रमितको संख्या दुई सय ९४ जना पुगेको छ । जसमा दुई सय ६१ जना निको भइसकेका छन् भने ३२ जना आइसोलेसनमा छन् ।
FACEBOOK COMMENTS