काठमाडौं, १० मङ्सिर पब्लिक ईनोभेटर तथा नागरिक उड्ययन क्षेत्रमा कार्यरत ईन्जिनियर दीपेन्द्र कँडेलले एकैपटक तीन देशका पूर्व राष्ट्रप्रमुखहरुलाई नेपाल भ्रमण वर्ष २०२० मा सहभागी हुनको लागि निम्तो दिएका छन् । दुवईमा हालै आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिने क्रममा कँडेलले आईसल्याण्डका पूर्वराष्ट्रपति ओलाफर राग्नर ग्रिम्सन, न्युजिल्याण्डकी पूर्व प्रधानमन्त्री हेलेन क्लार्क र पानामाका पूर्वराष्ट्रपति जुवान कार्लोस भरेला रोड्रिग्युजलाई नेपाल भ्रमण वर्ष २०२० को भव्य उद्धघाटन समारोहमा सहभागी हुनको लागि निमन्त्रणा दिएका हुन् ।
कँडेल नेपाल भ्रमण वर्षलाई सफल तुल्याउनको लागि प्रचारप्रसारमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा आफूलाई केन्द्रीकृत गर्दै अघि बढिरहेका छन् । यही क्रममा उनले दुवईमा आयोजित नलेज समिटमा उनीहरुलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् ।
कँडेलद्धारा जारी विज्ञप्तीमा तीनैजना नेताहरुसँग आफ्नो फलदायी र सकारात्मक छलफल भएको जनाईएको छ । भेटवार्ताको क्रममा कँडेलले आफ्नो कँडेल फाउण्डेशन नामक गैरसरकारी संस्थाको बारेमा पनि उनीहरुसँग छलफल गरेका थिए ।
नेपाल भ्रमण वर्षमा सहभागी हुनको लागि कँडेलले दिएको निम्तो प्रति पानामाका पूर्वराष्ट्रपति जुवान कार्लोस भरेला रोड्रिग्युज सकारात्मक देखिएको पनि उनले जनाएकाछन् । नेपाल भ्रमण वर्षमा नेपालले कम्तिमा पनि २० लाख पर्यटक नेपाल ल्याउने तयारी गरेको छ । सरकारको भ्रमण वर्ष सफल बनाउने उद्देश्य र तयारीमा कँडेलको पूर्ण साथ र सहयोग रहँदै आएको छ । रोड्रिग्युजको नेपाल भ्रमणले नेपाल र पानामाबीचको द्धिपक्षीय कुटनीतिक सम्बन्ध पनि नयाँ उचाईमा पुग्ने कँडेलको विश्वास छ । उनको नेपाल भ्रमणले नेपालमा पर्यटकहरुको संख्या बढाउने पनि विश्वास दिलाए ।
त्यस्तै, न्यूजिल्याण्डकी पूर्वप्रधानमन्त्री क्लार्क पनि नेपाल भ्रमणमा आउन ईच्छुक रहेको कँडेलले जनाएका छन् । दुवईमा आयोजित उक्त नलेज समिट २०१९ को दौरान कँडेलले क्लार्कसँग भेटवार्ता गरेका थिए । क्लार्क न्यूजिल्याण्डमा सन् १९९९ देखि सन् २००८ सम्म प्रधानमन्त्री थिईन् । सबैभन्दा बढि समय देशको नेतृत्व गर्ने प्रधानमन्त्रीको रुपमा उनलाई पाँचौ नम्बरमा राखिएको छ । उनले आफ्नो नाममा हेलेन क्लार्क फाउण्डेशन खोलेर दिगो र शान्त समाज निर्माणको लागि काम गर्दै आएकी छिन् ।
भेटवार्तामा कँडेलले नेपाल र न्यूजिल्याण्डबीचको सम्बन्ध बारे कुराकानी गरेका थिए । कँडेलले क्लार्कलाई पनि नेपाल भ्रमणको विशेष निम्तो दिएका थिए । उनले पनि नेपाल भ्रमणमा आउनको लागि आफू ईच्छुक रहेको प्रतिक्रिया दिएकी थिईन् । कँडेलका अनुसार क्लार्क सम्भवतः यही महिनाभित्रै नेपाल आईपुग्नेछिन् । क्लार्कको नेपाल भ्रमणले नेपालको पर्यटन विकासमा ठूलो टेवा पुग्ने कँडेलको विश्वास छ ।
त्यस्तै, कँडेलले आईसल्याण्डका पूर्वराष्ट्रपति ओलाफर राग्नर ग्रिम्सनसँगपनि विशेष भेटवार्ता गरेका छन् । आईसल्याण्डमा सबैभन्दा लामो समयसम्म ९सन् १९९६ देखि २०१६० राष्ट्रपतिको रुपमा काम गरेका ग्रिम्सनपनि नेपाल भ्रमणमा आउन ईच्छुक छन् । ग्रिम्सन आर्कटिक सर्कलका अध्यक्षसमेत हुन् ।
भेटवार्तामा कँडेलले नेपाल र आईसल्याण्डबीचको सम्बन्धको बारेमा कुराकानी गरेका थिए । ग्रिम्सनले कँडेलको नेपाल भ्रमणको निम्तो स्विकार गरेका छन् । उनको नेपाल भ्रमणले नेपालको भ्रमण वर्षलाई सफल पार्नको लागि ठूलो मद्दत पुग्ने कँडेलको विश्वास छ ।
FACEBOOK COMMENTS