काठमाण्डौँ — बजारमा मट्टीतेलको खपत घटेपछि नेपाल आयल निगमले मट्टीतेल भण्डारण गर्ने ट्यांकलाई पेट्रोल ट्यांकमा परिणत गर्न सुरु गरेको छ ।
निगमसँग पेट्रोल भण्डारण क्षमता कम भएपछि यो कदम चालेको हो।
निगमको थानकोट डिपोमा ४२ लाख लिटरका मट्टीतेल राख्ने दुई ठूला ट्यांकलाई ‘कन्भर्जिङ’ गरेर पेट्रोल भण्डारण गर्ने परियोजना सफल भएपछि निगमले अन्य डिपोमा पनि मट्टीतेल ट्यांकलाई धमाधम पेट्रोलमा रुपान्तरण गर्न थालेको छ।
निगमले चार डिपोका ३४ लाख १० हजारका मट्टीतेल ट्यांकलाई पेट्रोलमा परिणत गर्न सुरु गरेको छ ।
निगमका सबै डिपोमा पेट्रोल भण्डारण क्षमता थोरै भएकाले मट्टीतेल ट्यांकलाई प्रयोगमा ल्याउन लागिएको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताए ।
विराटनगरका १५ सय १० किलोलिटरका दुई मट्टीतेल ट्यांकलाई पेट्रोलमा रुपान्तरण गर्न लागिएको छ ।
त्यसैगरी नेपालगन्ज र पोखरा प्रत्येकका सात सय ६० किलोलिटर र भैरहवाको तीन सय ८० किलोलिटरका मट्टीतेल ट्यांकलाई कन्भर्जिङ गर्न लागिएको हो ।
विराटनगर र भैरहवाको लागि टेन्डर आह्वान गरिसकेको निगमका प्रवक्ता विरेन्द्र गोइतले बताए ।
पेट्रोलियम पदार्थ आयातमा सामान्य अवरोध हुनासाथ स्टक कम भएकाले पेट्रोल भर्न उपभोक्ता घन्टौं लाइन बस्नुपर्ने बाध्यता छ ।
— नागरीक
FACEBOOK COMMENTS