१६ फागुन, काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार झापाका विभिन्न खोला र नदीमा निर्माण भएका ४ वटा पुलको उद्घाटन गरेका छन् । उनले मदनभण्डारी राजमार्गको धरान–बाहुनडाँगी खण्डमा बन्ने ३१ वटा पुलको पनि आइतबार नै शिलान्यास गरेका छन् ।
प्रधानमन्त्री ओलीले गृह जिल्ला झापा पुगेर कमल खोला पुल, मावाबेतिनी पुल र रतुवा खोलाका २ वटा पुल उद्घाटन गरेका हुन् ।
कमलखोला पुल २०७६ फागुन २३ मै निर्माण सकिएर सञ्चालनमा आएको एक वर्षपछि प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन् । १७० मिटर लामो यो पुल १६ करोड रुपैयाँ लगातमा बनेको हो ।
मावाबेतिनी खोलाको २०० मिटर लामो पुल गत पुसमा निर्माण सकिएको हो । सेतोमाडीको रतुवा पुल ३०० मिटर लामो छ र यसको निर्माण प िनगत असोजमै सकिएको थियो ।
त्यस्तै मदनभण्डारी राजमार्गमा पर्ने २०० मिटर लामो चुलाचुली जोड्ने रतुवाखोलाकै पुल पनि प्रधानमन्त्रीले उद्घाटन गरेका छन् । यो पुल साढे १५ करोड रुपैयाँ लागतमा निर्माण भएको हो ।
प्रधानमन्त्रीले चुलाचुली गाउँपालिका जोड्ने गरी रतुवाखोलाबाट संयुक्त शिलान्यास गरेका ३१ वटा पुलहरु सबै मदनभण्डारी राजमार्गमा बन्नेछन् ।
करिब ६ अर्ब रुपैयाँ लागत रहेको यी पुलहरु निर्माणका लागि मदनभण्डारी राजमार्ग आयोजना निर्देशनालयले १३ वटा निर्माण कम्पनी छनोट गरेको छ । निर्देशनालयका प्रमुख उमेशविन्दु श्रेष्ठका अनुसार ‘डिजाइन एन्ड बिल्ट’ मोडलमा बनाउने गरी पुलको ठेक्का लगाइएको हो ।
करिब १३० किलोमिटर लामो यो सडकखण्डमा बन्ने धेरैजसो पुलहरुको अहिले निर्माण कम्पनीले नै डिजाइन गरिरहेका छन् । केही पुलको डिजाइन सडक विभागबाट स्वीकृत भएर काम थाल्ने तयारी भएको श्रेष्ठले बताए ।
सुनसरी र मोरङ तथा झापा र इलामको सीमानामा २/२ वटा, मोरङ र झापामा १२/१२ वटा र इलाममा ३ वटा पुल निर्माण हुनेछन् ।
FACEBOOK COMMENTS