काठमाण्डौं — सिन्धुपाल्चोकको निमार्णाधीन मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम अत्यन्त सुस्त भएपछि त्यहाँका स्थानीय तहका जनप्रतिनिधिले काम छिटोसक्न दबाब दिएका छन्।
भोटेकोशी गाउँपालिका र बाह्रबीसे नगरपालिकामा निर्माण भइरहेको १०२ मेघावाट क्षमताको उक्त जलविद्युत् आयोजनाको सन् २०१३ मा निर्माणकार्य शुरु गरिएको थियो।
सन् २०१६ सम्ममा काम सम्पन्न गर्ने लक्ष्य लिइएको सो आयोजनाको अहिलेसम्म ५० प्रतिशत पनि काम सम्पन्न भएको छैन।
स्थानीय जनताको पनि शेयर रहेको आयोजना निर्माणमा ढिलाइ हुँदा यहाँका स्थानीय बासिन्दालाई मर्का परेको भन्दै स्थानीय तहको ध्यानाकर्षण भएको गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले बताए।
उनले एक विज्ञप्ति नै जारी गरेर जनताको सम्पत्तिले निर्माण हुने यस्ता आयोजना बन्न ढिलो हुँदा स्थानीयवासीको लगानीनै जोखिममा परेको उल्लेख गरेका छन्।

आयोजनाको काम सम्पन्न गर्न गाउँपालिकाले कुनै कसर बाँकी नराख्दा पनि आयोजना पक्षले विभिन्न बहाना गरेर निर्माणमा ढिलाइ गरेको उनको भनाइ छ।

— नागरीक