काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको स्थगित आइपीओ मंगलबार (आज) देखि पुनः खुला हुने भएको छ ।
कम्पनीले आयोजना प्रभावितका लागि वैशाख २१ गतेदेखि निष्काशन गरेको आईपीओ कोरोनाका कारण सरकारले लकडाउन गरेपछि २४ गते रोकिएको थियो । अहिले पुन खुला गरिएको छ ।
मध्य भोटेकोशीले सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावितका लागि कुल ६० लाख कित्ता आइपीओ निष्कासन गरेको हो । जसमध्ये १८ लाख कित्ता सेयर भोटेकोशी गाउँपालिका वडा नम्बर १ र ५ (साविकको लिस्ती र मार्मिंग गाविस) र बाह्रबिसे नगरपालिका वडा नम्बर ५,६,७ र ८ (साविकको गाती, घुम्पांग र मानेश्वरा गाविस) का स्थानीयलाई छुट्याईएको छ । यस्तै, ४२ लाख कित्ता सेयर सन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रका स्थानीयवासीको लागि छुट्याइएको छ ।
आईपीओमा स्थानीयले साउन १७ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयमा माग अनुसार आवेदन नपरेमा भने साउन ३२ गतेसम्म आवेदन दिन सकिने छ । यसअघि स्थगित हुनु अघि आवेदन दिएका स्थानीयले पुनः आवेदन दिनु नपर्ने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।
सिन्धुपाल्चोक जिल्लामा ३६ वटा र काठमाडौं जिल्लामा ७ वटा संकलन केन्द्रबाट दरखास्त फारम भर्न र रकम बुझाउन सकिनेछ । साथै, आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट पनि सेयर भर्न सकिने जनाइएको छ । स्थानीयले न्यूनतम ५० देखि अधिकतम ४०० कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।
FACEBOOK COMMENTS