काठमाडौं – नेपाल राष्ट्र बैंकले विदेशी लगानीमा सञ्चालन हुने आयोजना र उद्योग व्यवसायमा हुने डलर जोखिमलाई व्यवस्थापन गर्नका लागि हेजिङ फण्ड सञ्चालनमा ल्याउने भएको छ ।
मन्त्रिपरिषदबाट कार्यविधि स्वीकृत भएकाले केही दिनभित्रै हेजिङ फण्ड कार्यन्वयनमा ल्याउने नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले बताए ।
सरकारबाट स्वीकृति भएकाले अब छिट्टै फण्ड सञ्चालनमा आउने गभर्नरको भनाई छ । मौद्रिक नीतिको समीक्षाका लागि आयोजित छलफलमा बोल्दै गभर्नर नेपालले हेजिङ फण्ड सञ्चालनको कार्यविधि जारी हुने जानकारी दिए ।
विदेशी लगानी निर्माण हुने जलविद्युतलगायत अन्य उद्योगलाई परिवर्त्य विदेशी मुद्रा जोखिम बढेपछि हेजिङ फण्ड अवधारणा कार्यन्वयनमा आउन लागेको हो ।
फण्ड सञ्चालनमा आएपछि विदेशी लगानीकर्ताले डलर जोखिम बहन गर्नु नपर्ने हुन्छ । डलर मजबुत र अवमूल्यन हुँदाको जोखिम फण्डले बेहोर्ने छ । हेजिङ फण्डले विदेशी लगानीकर्तालाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।
लगानीकर्ता, सरकार विद्युत प्राधिकरणलगायत सम्बन्धित निकायले राष्ट्र बैंकमा अलग खाता खोली हेज फण्डको सिर्जना गरिने छ ।
FACEBOOK COMMENTS