काठमाडौं, पुस ६- नेपाल राष्ट्र बैंकले मर्जरमा जाने वा नजाने भन्नेबारे पछिल्लो जानकारी दिन वाणिज्य बैंकहरूलाई पत्र पठाएको छ । केन्द्रीय बैंकले सरकारी स्वामित्वका कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र हालै मर्जर गरेका ग्लोबल आईएमई र जनता विकासबाहेकका २३ ओटा वाणिज्य बैंकलाई १ साताअघि यस्तो पत्र पठाएको हो ।
राष्ट्र बैंक स्रोतका अनुसार सो पत्रमा मर्जरको विषयमा केकस्तो प्रगति भयो जानकारी माग गरिएको छ । तर, पत्र पठाएको १ सातासम्ममा पनि वाणिज्य बैंकहरूले केन्द्रीय बैंकलाई कुनै प्रतिक्रिया दिएका छैनन् ।
नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालले भने राष्ट्र बैंकको चिट्ठी हात परेपछि मर्जर कमिटीले यसबारे छलफल गरी प्रत्युत्तर पठाउने तयारी गरेको बताए । उनले आफ्नो बैंक मर्जरका लागि सकारात्मक रहे पनि उपयुक्त जोडी नपाएको प्रतिक्रिया दिए । ‘ मर्जरका बारेमा ठोस प्रगति भएको छैन ।
विभिन्न बैंकसँग छलफल भए पनि अन्तिम निष्कर्षमा पुग्न सकेका छैनांै,’ दाहालले बताए । दाहालका अनुसार वाणिज्य बैंकहरू आआफ्नै रणनीतिअनुरूप मर्जरमा लागेका छन् । दुई फरक संस्कार भएको बैंकबीच मर्जरको कुरा मिलेर सफल हुनु आफैमा चुनौती भएको उनले औंल्याए ।
यसअघि मर्जरमा जान इच्छुक ११ ओटा बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकलाई लिखित प्रस्ताव पेश गरेका थिए । सेन्चुरी कमर्शियल बैंक, माछापुच्छ्रे बैंक, सिभिल बैंक, सनराइज बैंक, सिटिजन्स बैंक, लक्ष्मी बैंक, एनसीसी बैंक, सानिमा बैंकलगायतले मर्जरका लागि आफूहरू तयार रहेको जानकारी राष्ट्र बैंकलाई दिएका थिए ।
चालू आवको मौद्रिक नीतिअगावै राष्ट्र बैंकले बैंकका सञ्चालक र सीईओहरूलाई बोलाएर मर्जरका लागि जोडी खोजेर आउन दबाबमूलक निर्देशन दिएपछि यस्तो प्रतिबद्धता पेश गरिएको थियो ।
तर, यस अवधिमा ग्लोबल आईएमई र जनता बैंकबीचको मर्जरले अन्तिम रूप लियो भने अन्य वाणिज्य बैंकहरूको हकमा कुनै प्रगति हुनसकेको छैन । यी दुवै बैंक गाभिएर मंसिर २० गतेदेखि एकीकृत कारोबार शुरू गरिसकेका छन् । मर्जरपछि ग्लोबल आईएमई चुक्तापूँजीका आधारमा नेपालकै सबैभन्दा ठूलो वाणिज्य बैंक हुन पुगेको छ । मर्जरपछि यस बैंकको चुक्तापूँजी रू १९ अर्ब रहेको छ । यी दुई बैंकबीच गत असार २० गते मर्जरमा जाने सहमति भएको थियो ।आजको आर्थिक अभियानमा समाचार छ ।
FACEBOOK COMMENTS