काठमाडौं – नेपाल र मलेसियाबीच शून्य लागतमा नेपाली श्रमिक लैजाने समझदारीमा हस्ताक्षर भएको छ। समझदारी भएसंगै रोजगारीको प्रमुख गन्तव्य मलेसियामा नेपाली कामदार निशुल्क जान पाउने भएका छन्।
६ महिनायता रोकिएको नेपाली कामदारको मलेसिया अब खुल्ने भएको हो ।
नेपाल भ्रमणमा रहेका मलेसियाली मानव संशाधन मन्त्री एम कुलाशेगरण र नेपालका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज बिष्टले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।
अब कामदारको सम्पूर्ण खर्च रोजगारदाता कम्पनीले ब्यहोर्ने छ। विगतमा नेपाली कामदारलाई लाग्दै आएको लेबी पनि अब लाग्दैन।
मलेसिया सरकारले तोकेको न्यूनतम तलव नेपाली कामदारले पनि पाउने छन्। श्रमिकको परिवारको सदस्यको निधन भएमा उसलाई १५ दिनको बिदा उपलब्ध हुने छ।
महिला कामदारको विशेष सुरक्षा गरिने सहमति पनि भएको छ। मलेसिया सरकारले कामदारको सुरक्षाको बीमा सम्बन्धि कुनै परिमार्जन गरेमा त्यसलाई नेपाली कामदारलाई पनि उपलब्ध गराइने सहमति भएको छ।
कामदारको मृत्यु भएमा शव नेपाल पठाउने ब्यवस्था रोजगारदाता कम्पनीले गर्नु पर्छ। सम्झौतापछि मन्त्री गोकर्ण विष्टले श्रमिक र रोजगारदाता दुबैको हितमा समझदारी भएको बताए।
दुई देशको वार्ता टोलीले कामदारको भिसा शुल्क, टिकट शुल्क रोजगारदाताले ब्यहोर्ने समझदारी भएको छ। कामदारले मेनपावरलाई तिर्नुपर्ने सेवा शुल्कसमेत रोजगारदाताले नै ब्यहोर्ने गरी समझदारी भएको छ। कामदारले बैंक खातामा तलव पाउने छन्।
FACEBOOK COMMENTS