डिएन घिसिङ ,
विश्व यतिबेला कोरोना भाइरसको कारण आक्रान्त बनेको छ।मानब सभ्यताको विकासलाई समेत चुनौती दिइरहेको कोरोना भाईरस कोभिड१९ले आर्थिक र सामाजिक क्षेत्रमा ठुलो तरंग ल्याएको छ । खेल जगत पनि यसबाट अछुतो रहेन र रहने कुरा पनि भएन् । कोभिड १९ ले महामारीको रुप ग्रहण गरेको छ । त्यस कारण पनि यसबाट कसरी सुरक्षित रहने भन्ने चिन्ता सिंगो विश्व समुदायलाई छ । अधिकांश देशहरुले लकडाउनको सामना गरिरहेका छन् । वास्तवमा भन्ने हो भने अघोशित रुपमा विश्व नै लकडाउनको अवस्थामा छ, समुदायगत हिसाबले । र सारा विश्व समुदायलाई नै,स्वास्थ्य प्रति उच्च सजगता र सतर्कता अपनाउनुपर्ने स्थिती देखिन्छ किनकी यो असामान्य परिस्थिती हो । विश्व स्वास्थ्य संगठनले समेत कोरोनालाई जैविक हतियारको रुपमा चित्रण गर्दै यसबाट निम्तन सक्ने खतराका बिषयमा गम्भिर रहनुपर्ने औल्याउदै आएको छ भने विश्व समुदायको स्वास्थ्य सुरक्षा मामिलामा गम्भिर चिन्ता र चासो प्रकट गर्दै आएको छ । यस पृष्ठभुमीले सारा विश्व त्राहीमाम हुनुपर्ने अवस्थामा बोध गराउछ । अर्थात हामी असामान्य स्थितीमा छौ । जहाँ नियमित गतिविधीहरु ठप्प छन । अपरिचित ब्यक्तिको त कुरै छाडौ घर परिवारको सदस्य समेत रासन पानीको जोहो गर्न घर बाहिर केही बेरका लागि निक्लिएर पुन फर्किएर दैलो सामु आउँदा पनि डर मान्नुपर्ने स्थिती बनेको छ । र खेलकुद क्षेत्र समेत यसको प्रभावबाट अछुतो रहन कसरी सकोस् । र यस्तो अवस्थामा आखिर खेल गतिविधी रोकिनु कुनै नौलो चिज होईन । र यो विस्मय माझ खेलप्रेमी सवैले स्विकार्नुको विकल्प पनि छैन । वास्तवमा खेल गतिविधी पनि स्वास्थ्य र निरोगीताको पहेली हो । तर यो घर टोलको साघुरो घेरा भित्र सिमित बनेको छ । भित्री शहरी क्षेत्रमा त घर नै संसार बनेको छ भने ग्रामीण बस्ती क्षेत्रमा जहाँ प्रहरी प्रशासनको नजर कम छ त्यस्तो ठाउँमा टोल छिमेकसम्म मानिसले पहुँच राख्ने गरेका छन । ब्यवसायिक खेल गतिविधीमा पूर्णविराम नै लागेको अवस्था छ । सन २०२० जापानमा आयोजना हुने गृस्मकालिन ओलम्पिक लगायत बिश्वकप,क्षेत्रीय खेल,अन्तर्राष्ट्रिय आमन्त्रण र घरेलु प्रतियोगिता समेत आयोजकले स्थगित गर्नु परेको छ।बिश्व स्वस्थ्य संगठनले जारी गरेको सामाजिक दुरीको परिभाषामा सबैभन्दा बढी खेल जगतमा प्रभाव परेको छ।कुनैपनी खेल आयोजना हुँदा आमान्त्रित सहभागी खेलाडी, प्राबिधिक, सुभेच्छुक, दर्शक आदिको बाहुल्यता रहने हुँदा पनि कोरोना प्रभावको जोखिम उच्च रहेको जनाएको छ।
विश्वका अधिकांश राष्ट्रले लकडाउन अर्थात बन्दाबन्दी जारी गरेपछि खेलाडीको दैनिक प्रशिक्षणमा समेत बाधा पुगेको छ। राष्ट्रिय वा अन्तर्राष्ट्रिय विभिन्न प्रतियोगिताको आयोजना तत्काल नहुने भएपछि खेलाडीले तयारी अभ्यास थाँती राखेका छ्न। यद्यपी घरेलु वा निजी मैदानमा भने ब्यक्तिगत ब्यायामको लागी खेलाडीहरु सहभागी हुने गरेका छन् । दैनिक प्रशिक्षणमा समेत बाधा पुग्ने भएकाले यस्तो अबस्था सामान्य मानसिक परिवर्तन हुनसक्ने अध्ययनले देखाएको छ।
यता स्टारडम बोकेका अन्तरराष्ट्रिय स्तरमा चर्चित खेलाडी देखी सामान्य स्थानिय स्तरमा चर्चा बटुल्ने खेलाडीहरुको दैनिकीमा परिवर्तन आएको छ । विश्वका चर्चित फुटबल लिग, क्रीकेट लिग आदी सबै बन्द छन् । त्यसैले स्टार खेलाडी समेत फुर्सदमा छन् । यि मध्ये अधिकांशले आम मानिसलाई कोभिड १९ बाट कसरी सुरक्षित रहने भन्ने लगायतका काममा हात बढाएका देखिन्छन् । कोही कोहीले त अझ आर्थिक एवम् भौतिक सहयोग पनि गरेका छन ।
सर्वाधिक ओलम्पिक स्वर्ण बिजेता अमेरिकाका पौडी खेलाडी माइकल फिलिप्सले ट्विट गर्दै सन्देश प्रवाह गर्न खोजेका छन् । “अनिश्चितताको समयमा, हामी सबैलाई आत्म निर्भर गर्न सक्ने उर्जा चाहिन्छ” उनले उल्लेख गरेका छन् । साथै फिलिप्सले कोभिड १९ को प्रतिरक्षा गर्नको लागी कल्याणकारी योजना समेत अगाडि सारेका छ्न।चुनौतीपूर्ण समयमा पुनःदिनको लागि, आफुले खेलमा लगाउने सूट र चश्मा दान गरेको बताए। कल्याणकारी कोषमा सहभागी सहयोगी हात बढाउन आग्रह समेत गर्दै फिलिप्सले अगाडि भनेका छ्न “म मेरा साथी खेलाडीहरूलाई पनि सम्मिलित हुन आव्हान गर्दछु ” ।
यसैगरी पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले पनि कोरोनाको संक्रमणविरुद्ध लड्नका लागि एक मिलियन युरो सहयोग गरेका छन्। रोनाल्डोले फुटबल एजेन्ट एवं व्यापारी जोर्ज मेन्डेससँग मिलेर राजधानी लिस्बनस्थित सान्टा मारिया अस्पताललाई जीवनरक्षक उपकरणहरु प्रदान गरेका हुन्।
यसअघि अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेस्सीले पनि कोरोना भाइरसविरुद्ध लड्न बार्सिलोनाको एक अस्पताललाई १० लाख युरो सहयोग गरेका थिए।
युएफसी मार्शल आर्ट्स खेलका चर्चित आईरल्याण्डका खेलाडी क्रोनर एम्सी ग्रयागोरले भने एक सशक्त नारा अघि सारेका छन् । जुन हो “हामी उठ्नेछौं र हामी समृद्ध हुनेछौं, हामी सबैलाई थाहा छ” । उनको दैनिकी भने लकडाउनको अवधीमा निजि क्लबमा अभ्यास गर्ने गर्दै बितेको छ । जर्मन राष्ट्रिय टिमका फुटबल खेलाडीहरूले कोरोना भाइरसको महामारीसँग जुध्नका लागि २५ लाख युरो सहयोग गर्ने घोषणा गरेका छन्। जर्मनीकै कप्तान म्यानुएल नोयले इन्स्टाग्राममा भनेका छन् “हामीले धेरैपल्ट एकअर्कालाई हेर्न आवश्यक छ । हामी राष्ट्रिय टिममा रहेकाहरूले सोचिरहेका थियौं र हामी राम्रो कुराका लागि सहयोग गर्न गइरहेका छौं” ।
संकटको घडीमा मानिसहरूलाई आफ्नो व्यवहार परिवर्तन गर्न आग्रह गर्दै जर्मनीका प्रशिक्षक जोचिम लोले भने ‘विश्वले संयुक्त रूपमै जलन अनुभव गरिरहेको छ।पृथ्वी मानवीय व्यवहारविरुद्ध नै रक्षात्मक अवस्थामा पुगेको छ। शक्ति, घमण्ड र नाफा पछिल्लो समय सधैं मैदानमा रह्यो। तर, अब जसले हामीलाई केही प्रभाव पारेको छ र यसले वास्तवमै हामीलाई साथी, परिवार र अरुप्रतिको सम्मानप्रतिको जीवनबारे सोच्न बाध्य पारेको छ’ ।
त्यस्तै, एसी मिलानका भेट्रान फरवार्ड जाल्टन इब्राहिमोभिचले कोरोना भाइरसको महामारीविरुद्ध लड्नलाई इटालीको अस्पतालका लागि सहयोग जुटाउन थालेका छन। ‘इटालीले मलाई सधैं धेरै दिएको छ, यो नाटकीय क्षणमा म त्यसलाई फर्काउन चाहन्छु’ जाल्टनले भनेका छन् । उनले यस बिषम परिस्थितिमा यो भाइरसलाई किक गर्दै फाल्नका लागि सम्पुर्ण शुभचिन्तक सामु आग्रह पनि गरेका छ्न।
विश्वव्यापी समस्या बनिरहेको कोभिड १९ का कारण चिकित्सा कर्मचारीहरूले अभूतपूर्व तनावको सामना गरिरहेको अवस्थामा इजरायलबाट प्रकाशन हुने क्यालकलास्ट पत्रिकाले भने कोरोना-फाइटिंगमा डाक्टरहरूले खेल मनोविज्ञानको अनुसरण गर्न प्रेरित गरेका छ्न। उक्त लेखमा भनिएको छ कोरोनाभाइरस कोविड -१९ ले थुप्रै ठाउँमा स्वास्थ्य प्रणालीहरू भत्काउन लागेको छ। हेरचाहकर्ताहरूले उनीहरूले सम्पूर्ण प्रणाली,राष्ट्र र संसारको तनावलाई आफ्नो काधमा आएको महसुस गराइरहेको परिप्रेक्ष्यमा साहसिक अनुभुती लिदै जित मनोविज्ञानले विशेषत सहयोगी वा स्वास्थकर्मीलाई लाभ पुग्ने बिश्वास गरेका छ्न। उक्त प्रकाशनमा एक खेल मनोवैज्ञानिकले प्रदर्शनको दौरान व्यक्तिले कस्तो महसुस गर्छ वा विशेषता जनाउछ भन्ने बिषयमा तर्क पेश गर्दै भनेका छन् ” कुनै पनि ब्यक्तिमा समस्या हुँदा मनोवैज्ञानिकले त्यसलाई समाधान गर्न तर्फ प्रेरित गर्न मद्दत गर्दछ । र जब सवाल प्रदर्शनको रहन्छ त्यस्तो अवस्थामा म जित्छु वा हामीले जित्छौ भन्ने भावनाको विकास गर्न आवश्यक छ ।”
विश्वमा कोरोना भाइरसको प्रकोप चरम शिखरमा भएकाले महामारीको रोगथामका लागि मुख्य रुपमा स्वास्थकर्मीको भूमिका अहम छ । यसमा दुईमत छैन । साथै, यस अवस्थामा चिकित्सकहरु एवम् अन्य स्वास्थ्यकर्मीका लागि खेल क्षेत्रमा प्रयोगमा आउने जित मनोविज्ञानको उपयोगिता प्रायोगिक हुने अौंलाइएको छ । तसर्थ, खेल मनोवैज्ञानिकहरूको आवश्यकता माथि पनि बिज्ञहरुले जोड दिएका छन् । यसलाई पनि समयको मागको रुपमा लिनुपर्ने हुन्छ ।
भावनात्मक दु:खबाट ग्रस्त रहदा आफूलाई परिस्थिती अनुरुप ढाल्नसक्ने शास्त्र ज्ञान र उच्च मनोबल आवश्यक रहन्छ । अर्थात मनलाई चंङ्गा पार्न सक्नुपर्छ । जसका लागि ब्यायाम, लेख पढ, कलाकारीता जस्ता साईड वर्कमा रमाउन सकिन्छ । मन वहलाउन सकिन्छ । चित्तलाई धैर्य र संयम राख्न सक्नु मै सारा मानव जगतको कल्याण हुने देखिन्छ । छिट्टै एक दिन अवश्य घर टोलको पर्खालको सिमा नाघेर खुला आकाश मुनी निश्फिक्री विचरण गर्ने दिन आउनेछ । अनि पूर्ववत अवस्थामा खेल जगत पनि फर्कने छ, यसमा कुनै शंका छैन ।
FACEBOOK COMMENTS