काठमाडौं, कात्तिक ३ – प्रमुख प्रतिपक्ष कांग्रेसले सरकार कोरोना महामारीबाट जनतालाई जोगाउन असफल भएको बताएको छ । संक्रमितको परीक्षण र उपचारको दायित्वबाट पन्छिने निर्णय गरेर सरकारले गैरजिम्मेवार व्यवहार देखाएको समेत कांग्रेसले सोमबार विज्ञप्तिमार्फत जनाएको छ ।
‘सर्वोच्च अदालतले संक्रमितको निःशुल्क उपचारको प्रबन्ध गराउन भनी दिएको आदेशसमेत पालना नगर्नुले जनता, मिडिया, प्रतिपक्ष, अदालत कसैको पनि नसुन्ने सरकार कसको सुन्छ ? भन्ने प्रश्न उब्जिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
कोरोनाले जनताको आर्थिक जीवनमा परेको असर दृष्टिगत गरेर सबैको दायित्व सम्हाल्ने कर्तव्य सरकारको भएको भन्दै कांग्रेसले संक्रामक रोग उपचारको कानुनी व्यवस्थाअनुरूप पनि सरकार जिम्मेवारीबाट पन्छिन नमिल्ने औंल्याएको छ ।
कोभिड अस्पतालको अनिश्चितता, सामुदायिक आइसोलेसन तयार गर्न ढिलाइ, भेन्टिलेटर अभाव, रेमडिसिभरको कालोबजारी, अव्यवस्थित क्वारेन्टाइन र शव व्यवस्थापनसम्म लहडको नीतिले ‘सरकारको बौद्धिक र भौतिक दुवै अस्तित्वमा भयानक प्रश्न चिह्न’ खडा गरेको कांग्रेसको टिप्पणी छ । ‘उपचारको दायित्वबाट पन्छिएपछि ‘देशमा सरकार छ’ भन्ने बचेखुचेको भ्रमको अन्त्य गर्न सरकार आफैं उद्यत रहेको पुष्टि भएको छ,’ प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
सांसद विकास कोष, दसैंभत्तालगायत खारेज गरेर जनताको जीवन जोगाउन लगानी बढाउनु सरकारको कर्तव्य रहेको कांग्रेसले जनाएको छ । ‘नेपाली कांग्रेस कोरोना परीक्षण र उपचार निःशुल्क रूपमा गरेर महामारीबाट जनतालाई जोगाउन विशेष संवेदनशीलताका लागि प्रधानमन्त्रीजी एवं उहाँको नेतृत्वको सरकारलाई आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
FACEBOOK COMMENTS